रोजगारीकालागि भारत गएका नेपालीहरु दशैमा घर फर्कदै


काठमाडौ । चाडपर्व नजिकिए संगै भारतमा रोजगारीकालागि गएका नेपालीहरु अहिले विभिन्न नाका भएर धमाधम घर फर्किन थालेका छन् । विभिन्न समयमा भारत गएका नेपालीहरु घर फर्कन थालेपछि सिमाक्षेत्रमा भिड लाग्ने गरेको छ । तर वर्षभरी भारतमा काम गरी फर्किदा सिमा क्षेत्रवाट हुने लुटपाट र जेकजाँचको निहुमा हुने सास्ति भने नरोकिएको उनिहरुको गुनासो छ ।
भारतमा रोजगारी गर्न गएका नेपालीहरु दशै–तिहारमा घर फर्किन थालेपछि नाकामा भीड बढेको छ । अहिले नेपालगञ्जको रुपैडिहा, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीनाका भएर घर फर्किने नेपालीको लर्को लागेको छ ।
गौरीफन्टा र कञ्चनपुर भएर भारत रोजगारी गर्न जानेहरुमा सुदरपश्चिम र मध्यपश्चिमका दाङ, दैलेख, रोल्पा, सुर्खेत जाजरकोट, दार्चुला, बैतडि, बझाङ, अछाम लगायतका बढि छन् । उनीहरु मजदुरीकालागी भारतको राजधानी दिल्ली, गढ्वाल, सिमला, चण्डिगढ, जम्मु–कश्मिर लगायतका शहरमा जाने गरेका छन् । मजदुरीका लागि भारत जानेहरु दैनीक हजारौको संख्यामा अहिले पश्चिम नेपालका प्रमुख नाकाबाट फर्किन थालेका छन् ।
बर्षभरी रोजगारी गरेर कमाएको रकम लिएर आफ्ना परिवार, बालवालिका एवं आफन्तसंग रमाउन चाडपर्वका लागी घर फर्कदा अत्यन्तै उत्साहित हुने गरेका छन् । तर यसरी उत्साहकासाथ घर फर्कनेहरु सिमा क्षेत्रमा भोग्नुपरेको हैरानीले भने दुखित बनाएको वताएका छन् । नेपालीहरुलाई बाटो तथा सिमाक्षेत्रमा नसालु पदार्थ खुवाएर लुटपाट गर्ने, चेकजाचको नाममा भारतिय कस्टममा सुरक्षाकर्मिले पैसा असुल्ने, पैसा नदिए कुटपिट गर्ने र विनाहक दुःख दिने गरेको गुनासो उनीहरुले गरेका छन् ।
भारतीय सिमामा बर्षेनी नेपालीहरु लुटिने विषयमा उच्च सुरक्षाअधिकारी र दुवै देशका प्रशासन विच पटक पटक छलफल हुने गरेपनी लुटपाट तथा ज्यादतीका घटनामा कुनै कमि आएको छैन् । चाडपर्वको समयमा भारतबाट आउने यात्रुलाई सुरक्षित तरिकाले सिमाक्षेत्रमा आवागमनको सुविधा दिने दुवै देशका प्रशासन विच सहमती भएपनि कुनै पक्षबाट पनि अनुगमन तथा कार्यान्वयन भने हुन नसकेको छैन ।
यता कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले भने चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएको जनाएको छ । यात्रुहरुलाई सहज रुपमा नेपाल आउन दुवै देश विच समन्वय गर्दै आएको प्रहरीले जनाएको छ । भारतिय जिप, अटो रिक्साहरुले समेत मनपरीभाडा अशुल गर्ने र यात्रुहरुलाई दुख दिएको गुनासो आएपछि सिमा क्षेत्रमा सुरक्षा सर्तकता बढाएको र तोकेकोभाडा भन्दा बढि असुल गरेको पाईएमा कारवाही गरीने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
हरेक वर्ष हजारौंको संख्यामा भारतमा रोजगारी गर्न परिवार सहित जाने गरेका छन् । नेपालमा रोजगारीको अवसर नभएकै कारण दुर्गम गाउँबस्ती बाट घरखर्च चलाउनकैलागि नेपालीहरु भारत जाने गर्दछन् ।