रास्वपाले घोषणापत्र फागुन ७ गते सार्वजनिक गर्ने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन ७ गते घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
पार्टीले निर्वाचन अभियानलाई व्यवस्थित र मुद्दा–केन्द्रित बनाउने उद्देश्यसहित वाचापत्र ल्याउन लागेको जनाएको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी ले वाचापत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार पार्टीले नीति, कार्यक्रम र प्राथमिकताका विषयलाई समेटेर मतदातामाझ स्पष्ट दृष्टिकोण राख्ने तयारी गरेको छ। “फागुन ७ गते वाचापत्र सार्वजनिक गर्छौँ, सोही अनुसार तयारी भइरहेको छ,” उनले बताए।
यसअघि निर्वाचन आयोग ले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो। आयोगको निर्देशनसँगै विभिन्न दलहरूले घोषणापत्र सार्वजनिक गर्ने तालिका सार्वजनिक गरिरहेका छन्।
हालसम्म प्रमुख दलमध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार सार्वजनिक गर्ने तयारी गरेको छ भने जसपाले आयोगले तोकेको मितिमै ल्याउने जनाएको छ।
यता नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भने घोषणापत्र सार्वजनिक गर्ने मिति अझै तय गरेका छैनन्। निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच आफ्ना एजेन्डा र प्रतिबद्धतामार्फत मतदाता आकर्षित गर्ने प्रतिस्पर्धा बढ्दो क्रममा देखिएको छ।












