निर्वाचनलाई भयरहित बनाउन सरकार सक्रिय, वडा तहसम्म समन्वय

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचनलाई भयरहित बनाउन सरकार सक्रिय, वडा तहसम्म समन्वय

काठमाडौ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।

शान्ति सुरक्षा, निर्वाचन तयारी तथा समसामयिक विषयमा आज गृह मन्त्रालयमा आयोजित छलफलमा उनले निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा तहसम्म समन्वय र सहकार्य विस्तार गरिएको जानकारी दिए। उनका अनुसार ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ कार्यान्वयनमा ल्याइएको छ।

छलफलमा नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र जिल्ला समन्वय समिति महासङ्घ, नेपाल का प्रमुख तथा पदाधिकारी सहभागी थिए। सहभागीहरूले आ–आफ्नो क्षेत्रबाट स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताएका छन्।

गृहमन्त्री अर्यालले केन्द्र, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान र समाधान गरिने बताए। उनले निर्वाचन प्रक्रियामा कुनै पनि किसिमको अवरोध हुन नदिन सुरक्षा निकायहरूलाई सतर्क अवस्थामा राखिएको स्पष्ट पारे।

छलफलमा गृहसचिव राजकुमार श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, भीमप्रसाद ढुङ्गाना, लक्ष्मीदेवी पाण्डे, भरतकुमार भट्टराई तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले लगायतको सहभागिता रहेको थियो।