राष्ट्रियसभाको १९औँ अधिवेशन ऐतिहासिक र महत्वपूर्ण : अध्यक्ष दाहाल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको १९औँ अधिवेशन संविधानको मर्मअनुसार आपसी विश्वास सिर्जना गर्ने र जनतामा उत्पन्न अन्योलतालाई चिर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
शुक्रबार सम्पन्न बैठकमा अध्यक्ष दाहालले अधिवेशन समयका हिसाबले छोटो भए पनि ऐतिहासिक र सार्थक रहेको बताए। जेनजी आन्दोलनपछि देशको राजनीतिक परिस्थिति परिवर्तन भएको र प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन घोषणा भएको संवेदनशील अवस्थाबीच राष्ट्रियसभाले विशिष्ट कामहरू सम्पन्न गरेको उनको भनाइ थियो।
दाहालले भने, “हामीले कानुनी जटिलता मात्र समाधान गरेका छैनौं, सरकार, सङ्घीय संसद्, राजनीतिक दल र अन्य पक्षसँग सहमति, सहकार्य र समन्वय गर्दै संविधानको मर्मअनुसार आपसी विश्वास निर्माण गर्न सफल भएका छौं।”
१९औँ अधिवेशनमा कुल नौ बैठक बसेका थिए र १७ घण्टा २५ मिनेट सभाको काममा व्यतीत भएको अध्यक्ष दाहालले जानकारी दिए। यसैबीच, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी १९औँ अधिवेशन औपचारिक रूपमा अन्त्य गरेका छन्।












