अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुनेछः प्रचण्ड
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्वमा आयोजित जनभेटघाट तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अबको ‘युद्ध’ आर्थिक आत्मनिर्भरताका लागि हुने स्पष्ट पारेका छन् ।
प्रचण्डले भने, “केवल क्रान्तिको स्वरूप फेरिएको छ। अब हामीले उत्पादन र आर्थिक क्रान्ति सफल पार्नु छ। युद्ध जारी छ तर अब युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुनेछ। उत्पादन वृद्धि गरेर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका लागि हुनेछ। भ्रष्टाचार विरुद्ध र पारदर्शिताका लागि हुनेछ।”
रुकुमले देशलाई राजनीतिक क्रान्तिको बाटो देखाएको उनले स्मरण गर्दै, आफ्नै आभार व्यक्त गर्न अन्तिम पटक रुकुमबाटै चुनाव लड्ने योजना रहेको बताए। जिल्लाका ३१ वटै वडामा बाह्रै महिना यातायात सेवा सुनिश्चित गर्न पक्की सडक सञ्जाल विस्तार गर्ने र ‘हब स्कुल’ अवधारणा अनुसार आवासीय सुविधा, दक्ष शिक्षकसहितका विद्यालय स्थापना गरी हिमाली भेगको शैक्षिक गुणस्तर सुधार गर्ने प्रचण्डले बताए।
रुकुमको फलाम खानी उत्खनन र जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि उनले सार्वजनिक गरे। उनले मगर जातिको स्वायत्तता सुनिश्चित गर्दै मगर क्लष्टरलाई स्वायत्त क्षेत्र घोषणा गर्ने र छापामार पदमार्ग तथा जनयुद्ध स्मृतिहरूलाई सङ्ग्रहालय र पर्यटकीय गन्तव्यमा परिणत गर्ने योजना पनि उनले अघि सारे ।
लुम्बिनी प्रदेश सरकारले अर्ग्यानिक जिल्ला घोषणा गरेको सन्दर्भमा आवश्यक कानुन, नीति तथा प्रमाणीकरण निर्माण गरी यहाँका उत्पादनहरू प्रिमियम ब्राण्डका रूपमा सहरका डिपार्टमेन्टल स्टोरसम्म पु-याउने योजना प्रचण्डले गुणस्तरीय टिमुर, स्याउ, सुन्तला, कागती र अर्ग्यानिक तरकारी तथा अन्य बालीहरूको बजार सुनिश्चित गरिने वताए ।












