दसैँ सुरु भएसंगै शक्तिपिठमा भक्तजनको घुइचो

User Image Prime TV News १ हप्ता अगाडि
Image of दसैँ सुरु भएसंगै शक्तिपिठमा भक्तजनको घुइचो

काठमाडौ । बडादसैँ सुरु भएसंगै देशभरका शक्तिपिठमा भक्तजनको घुइचो लागेको छ । बडादशै आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको घुइचो लागेको हो ।

बिहानैदेखि भक्तपुरको ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।

नवरात्रि मेलामा पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ।

नवमीको दिन राति भक्तपुरमा महिषासुर दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये राँगोलाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचलन छ । नवमीको दिन रातिभरि र दशमीको दिन ब्रह्मायणीमा हजारौँको भीडमा मेला भर्ने गरिन्छ ।

यस्तै बडादशैंको पहिलो दिन घर घरमा घटस्थापना गर्नका माटो लिन भक्तपुरको च्यामासिंहमा भने भीड लाग्ने गरेको छ । भक्तपुरको च्यामासिंहमा रहेको ब्रह्मायणी मन्दिर नजिकै खोलाबाट माटो लिनेको भीड लाग्ने गरेकै कारण हरेक बर्ष स्वयंसेवकहरु नै परिचालन गरिदै आएको छ । जमरा उमार्नकालागि उक्त स्थानको माटो राम्रो र पवित्र भएकाले सर्वसाधारणहरु माटो लिन पुग्ने गरेको स्थानीयहरुको भनाई छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्नका लागि घटस्थापना गरिन्छ ।