एमाले झापा–५ ले ३० बुँदे अपीलमार्फत ओलीलाई मतदान गर्न खुला आह्वान

User Image Prime TV News २ हप्ता अगाडि
Image of एमाले झापा–५ ले ३० बुँदे अपीलमार्फत ओलीलाई मतदान गर्न खुला आह्वान

झापा । नेकपा एमाले झापा–५ क्षेत्रीय कमिटीले ३० बुँदे अपील सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओली लाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउन मतदातासँग आग्रह गरेको छ।

‘केपी शर्मा ओलीलाई नै भोट किन?’ शीर्षकको अपीलमा देशको राजनीतिक अन्योल, कमजोर बनेको मनोबल र अस्थिर अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न ओली आवश्यक रहेको दाबी गरिएको छ।

एमालेले वर्तमान अवस्थामा राष्ट्रिय स्वाधीनता, शान्ति–सुरक्षा र विकासलाई एकसाथ अघि बढाउन सक्ने नेतृत्व ओली मात्रै भएको उल्लेख गरेको छ।

अपीलमा झापा–५ मा सुरु भएर अलपत्र परेका विकास आयोजनाहरू सम्पन्न गर्न ओलीलाई जिताउनुपर्ने भनिएको छ। साथै, सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने, कृषिक्षेत्रको आधुनिकीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले पनि ओलीलाई मतदान गर्नुपर्ने एमालेको तर्क छ।

युवामा बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न प्राविधिक तथा सीपमूलक शिक्षा विस्तार गरी स्वरोजगार प्रवर्द्धन गर्ने योजना ओलीको नेतृत्वमा मात्रै सम्भव हुने दाबी अपीलमा गरिएको छ।

एमालेले एशियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकजस्ता राष्ट्रिय गौरवका आयोजनाहरूको अधुरो निर्माण पूरा गर्न ओलीको जित आवश्यक रहेको उल्लेख गरेको छ।

त्यसैगरी नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण सम्पन्न गर्ने, दमक, गौरादह र गौरिगञ्जलाई आधुनिक बजार तथा स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना पनि अपीलमा समेटिएको छ।

भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका दीर्घकालीन समस्या समाधानका लागि निर्णायक नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै एमालेले झापा–५ का मतदातालाई ओलीलाई मतदान गर्न आग्रह गरेको छ ।