कांग्रेसको दाबी: संगठन एकढिक्का, घोषणापत्र कार्यान्वयनयोग्य हुने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य भई संगठन तल्लो तहसम्म एकताबद्ध भइसकेको दाबी गरेको छ।
पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसे ले कांग्रेस चुनावी अभियानमा अनुशासित र जिम्मेवार ढङ्गले अघि बढिरहेको बताएका छन्।
प्रवक्ता चालिसेले नेतृत्व परिवर्तनपछि पार्टीभित्र देखिएको निराशा हट्दै कार्यकर्ता तहमा उत्साह फर्किएको दाबी गरे। उनले पार्टीले जनसम्पर्क विस्तार गर्दै देशभर नयाँ व्यक्ति र समूहलाई कांग्रेसमा समाहित गरिरहेको बताए।
“पार्टीलाई जनतासँग जोड्ने काम भइरहेको छ। संख्या मात्र होइन, गुणस्तरीय व्यक्ति जोड्नेमा हाम्रो ध्यान छ,” उनले भने।
उनले कांग्रेसको घोषणापत्र केवल चुनावी नाराको दस्तावेज नहुने स्पष्ट पारे। अहिले ‘प्रतिज्ञा’ केन्द्रित घोषणापत्र तयारी भइरहेको जनाउँदै उनले कार्यान्वयन गर्न नसकिने लोकप्रिय नारा समेटिने छैन भन्ने संकेत गरे।
“हामीले गर्न सक्ने काम मात्रै घोषणापत्रमा ल्याउँछौँ। कुन वर्ष के–कति काम सम्भव छ भन्ने कुरा प्रस्ट हुनेछ,” उनले भने।
पत्रकार सम्मेलनमा उनले कांग्रेस निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको पनि बताए। उनले नियम उल्लङ्घन गरेर चुनाव जित्ने सोच कांग्रेसको नभएको दाबी गरे।












