मध्यपूर्व तनाव उच्च विन्दुमा, अमेरिका–इरानबीच सैन्य टकरावको जोखिम बढ्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of मध्यपूर्व तनाव उच्च विन्दुमा, अमेरिका–इरानबीच सैन्य टकरावको जोखिम बढ्दै

काठमाडौ । अमेरिका र इरान बीचको तनाव गम्भीर मोडमा पुगेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी सेना सम्भावित सैन्य अपरेसनका लागि पूर्ण तयारी अवस्थामा राखिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएमा यो कारबाही कैयौँ हप्तासम्म चल्न सक्ने अमेरिकी अधिकारीहरूले जनाएका छन् । अमेरिकी सैन्य स्रोतहरूका अनुसार यस्तो अपरेसन सुरु भएमा यो अमेरिका–इरानबीच हालसम्मकै सबैभन्दा गम्भीर सैन्य संघर्षमा रूपान्तरण हुन सक्छ।

योजनाको संवेदनशीलताका कारण नाम नखुलाउने सर्तमा अधिकारीहरूले यसले कूटनीतिक सम्बन्धमा रहेको जोखिमलाई अझ बढाउने चेतावनी दिएका छन्।

यसैबीच, ट्रम्प प्रशासनले मध्यपूर्वमा सैन्य तैनाथी तीव्र पारेको छ। अमेरिकी नौसैनिक जहाजहरू इरान नजिकतर्फ अघि बढिसकेका छन् भने थप एक एयरक्राफ्ट क्यारियर, हजारौँ सैनिक, लडाकु विमान र गाइडेड मिसाइलहरू पनि पठाइँदै छन्।

शुक्रबार अमेरिकी सैनिकलाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौतामा पुग्न कठिन भइरहेको बताएका थिए। उनले वर्तमान अवस्था नियन्त्रणमा राख्न कठोर कदम आवश्यक पर्न सक्ने संकेत गरेका थिए।

ह्वाइट हाउसकी प्रवक्ता एना केललीले इरानका विषयमा सबै विकल्प खुला रहेको बताइन्। उनका अनुसार अन्तिम निर्णय अमेरिकी राष्ट्रिय सुरक्षाको मूल्याङ्कनका आधारमा लिइनेछ। तर, पेन्टागन ले सम्भावित सैन्य कारबाहीबारे थप प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

इरानले अमेरिकाले हमला गरेमा कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानको रिभोलुसनरी गार्ड्सले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्न सकिने बताएको छ। यसले क्षेत्रीय अस्थिरता थप फैलिन सक्ने खतरा बढाएको छ।

इरानले परमाणु कार्यक्रमबारे वार्ता गर्न तयार रहेको बताउँदै आएको भए पनि त्यसका लागि आफूमाथि लगाइएका प्रतिबन्ध हटाइनुपर्ने सर्त दोहोर्‍याएको छ। साथै, मिसाइल कार्यक्रम वार्ताको विषय नबन्ने स्पष्ट अडान लिएको छ।

यसै हप्ता ओमानको मस्कटमा अमेरिका र इरानबीच परमाणु मुद्दामा अप्रत्यक्ष वार्ता पुनः सुरु भएको छ। इरानले वार्तालाई सकारात्मक भने पनि वार्ताकै बीच अमेरिकाले इरानमाथि नयाँ इन्धनसम्बन्धी प्रतिबन्ध लगाएको छ । जसले वार्ताको वातावरणलाई थप जटिल बनाएको छ।