टी–२० विश्वकपमा नेपाल दबाबमा, वेस्ट इन्डिजविरुद्ध ‘डु अर डाइ’ खेल

User Image Prime TV News २ हप्ता अगाडि
Image of टी–२० विश्वकपमा नेपाल दबाबमा, वेस्ट इन्डिजविरुद्ध ‘डु अर डाइ’ खेल

काठमाडौ । जारी आईसीसी पुरुष टी–२० विश्वकप मा लगातार दुई हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिज क्रिकेट टोली सँग निर्णायक खेलमा उत्रिँदै छ। खेल मुम्बईको वानखेडे रंगशाला मा हुनेछ।

खेलअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक स्टुवार्टलले वेस्ट इन्डिजविरुद्धको खेल अत्यन्त कठिन हुने स्पष्ट संकेत गरेका छन्। उनले टोलीबाट कुनै पनि किसिमको गल्ती स्वीकार्य नहुने भन्दै खेलाडीहरूलाई उच्च अनुशासन र एकाग्रताका साथ मैदानमा उत्रन निर्देशन दिएका छन्।

प्रशिक्षक लले इटालीविरुद्धको खेललाई अस्वीकार्य प्रदर्शनको उदाहरणका रूपमा उल्लेख गरे। उनले इंग्ल्यान्डविरुद्धको प्रतिस्पर्धात्मक खेल र त्यसपछिको कमजोर प्रदर्शनबीच ठूलो अन्तर रहेको बताए। “त्यो हार माफ गर्न मिल्दैन। हामीले खेलाडीहरूसँग खुलेर कुरा गरिसकेका छौँ,” उनले भने, “अब वेस्ट इन्डिजविरुद्ध त्यही स्तरको गल्ती दोहोरिनु हुँदैन।”

इङ्ग्ल्यान्डविरुद्ध अन्तिम बलसम्म पुगेको खेलप्रति गर्व व्यक्त गर्दै प्रशिक्षक लले नेपालले ठूला टोलीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाइसकेको बताए। तर, विश्वकपजस्तो उच्चस्तरीय प्रतियोगितामा मानसिक दबाबलाई नियन्त्रण गर्न नसके परिणाम हातबाट फुत्किने उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा प्रशिक्षकले नेपाली क्रिकेटको संरचनागत कमजोरीतर्फ पनि संकेत गरे। उनले दीर्घकालीन सुधारका लागि घरेलु क्रिकेट प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रथम श्रेणीको क्रिकेट अपरिहार्य भएको बताए। “खेलाडीहरू लामो समयसम्म मैदानमा टिक्ने अभ्यासमा नआएसम्म अन्तर्राष्ट्रिय स्तरमा निरन्तरता सम्भव हुँदैन,” उनले स्पष्ट पारे।

लगातार हार, बलियो विपक्षी र बढ्दो दबाबबीच वेस्ट इन्डिजविरुद्धको खेल नेपालका लागि केवल अर्को खेल होइन, विश्वकप यात्रालाई जोगाइराख्ने वास्तविक परीक्षा बन्ने देखिन्छ ।