संकटको घडीमा जिम्मेवारी लिएँ, परिणाम दिएर बाहिरिएँ : कुलमान घिसिङ

User Image Prime TV News २ हप्ता अगाडि
Image of संकटको घडीमा जिम्मेवारी लिएँ, परिणाम दिएर बाहिरिएँ : कुलमान घिसिङ

काठमाडौ । उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ ले आफू व्यक्तिगत चाहनाले नभई आग्रहका कारण सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएको बताएका छन्। उनले राष्ट्रिय संकटको अवस्थामा जिम्मेवारीबाट भाग्न नमिल्ने ठानेर सरकारमा गएको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले प्रधानमन्त्री र जेनजी प्रतिनिधिको आग्रह स्वीकार गर्दै सीमित समयका लागि सरकारमा गएको स्पष्ट पारे।

उनले तीन महिनाको अवधिमा सरकारको मुख्य उद्देश्य पूरा गरेर बाहिरिएको बताए। “मैले चुनावका लागि बनेको सरकारमा नजाने कुरा सुरुमै भनेको थिएँ,” उनले भने, “तर प्रधानमन्त्रीले चुनावको वातावरण बनाउन जानुस् भन्नुभयो, त्यसैले जिम्मेवारी लिएँ।”

सरकारबाट बाहिरिएपछि आफूलाई ‘भगौडा मन्त्री’ भनेर चित्रण गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले त्यो आरोप निराधार भएको बताए। “म भागेर होइन, काम गरेर निस्किएको हुँ। छोटो समयमा डेलिभरी दिएर बाहिर आएको हुँ,” घिसिङले भने।

उनले अबको राजनीतिक यात्राको उद्देश्य देशलाई आर्थिक समृद्धिको दिशातर्फ लैजानु भएको उल्लेख गरे। सरकारमा जानु नै आफ्नो क्षमताको परीक्षा भएको भन्दै उनले चुनौती स्वीकार गरेर काम गरेर देखाएको जिकिर गरे।

भेलामा घिसिङले आफूले देशबाट लोडसेडिङ हटाएको स्मरण गराउँदै अब राजनीतिक क्षेत्रमा रहेको ‘लोडसेडिङ’ अन्त्य गर्न राजनीतिमा सक्रिय भएको बताए। “राजनीतिक लोडसेडिङ अन्त्य नभएसम्म देशको अवस्था सुधारिँदैन,” उनले भने।