महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा व्यवस्थापन तीव्र, साधुसन्तको आगमन बढ्ने अनुमान

User Image Prime TV News २ हप्ता अगाडि
Image of महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा व्यवस्थापन तीव्र, साधुसन्तको आगमन बढ्ने अनुमान

काठमाडौ । महाशिवरात्रि पर्व नजिकिँदै जाँदा पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल क्रमशः बढ्दै गएको छ। देश तथा विदेशबाट आएका साधु, सन्त र श्रद्धालुका कारण पशुपति क्षेत्र मेला जस्तै देखिन थालेको छ।

महाशिवरात्रिलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर, भोजन सेवा, खानेपानी तथा चिया वितरणजस्ता सेवा दिन विभिन्न स्वयंसेवी संस्था सक्रिय भएका छन्। कतिपय संस्थाले सेवा सुरु गरिसकेका छन् भने केही अन्तिम तयारीमा छन्।

पर्वको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीहरू स्थलगत रूपमा खटिएका छन्। कोषका अनुसार यस वर्ष सरसफाइ र व्यवस्थापनमा विशेष जोड दिइएको छ।

कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष करिब चार हजारदेखि चार हजार पाँच सयसम्म साधुसन्त पशुपति क्षेत्रमा आउने अनुमान गरिएको जानकारी दिए। उनका अनुसार गत वर्षको तुलनामा साधुसन्तको संख्या बढ्ने अपेक्षा गरिएको छ।

तर स्वयंसेवी संस्थाहरूको अनुभव फरक देखिएको छ। अघिल्ला वर्षको तुलनामा यस वर्ष महाशिवरात्रिको अघिल्लो दिन पशुपति क्षेत्रमा भक्तजनको संख्या केही कम देखिएको उनीहरूले बताएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको कारण आवागमनमा असर परेको हुन सक्ने अनुमान गरिएको छ।

महाशिवरात्रिलाई लक्षित गरी पशुपति क्षेत्रलाई फूलमालाले सिँगारिएको छ, जसले क्षेत्रलाई थप आकर्षक बनाएको छ। साथै आर्यघाट र राममन्दिर आसपासको वाग्मती नदी किनारमा व्यापक सरसफाइ गरिएको छ।

धार्मिक आस्था र व्यवस्थापन दुवैको परीक्षा हुने महाशिवरात्रि पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला निकाय सक्रिय देखिएका छन्।