नेपाल र वेस्ट इन्डिजबीच आज निर्णायक भिडन्त

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाल र वेस्ट इन्डिजबीच आज निर्णायक भिडन्त

काठमाडौ । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत समूह चरणको महत्वपूर्ण खेलमा आज नेपाल क्रिकेट टोलीले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज क्रिकेट टोलीको सामना गर्दै छ।

लगातार दुई खेलमा हार व्यहोरेको नेपालका लागि आजको खेल गर या मर को अवस्थामा पुगेको छ। आजको खेलमा पराजय बेहोरेमा नेपालको सुपर चरणमा पुग्ने सम्भावना समाप्त हुनेछ।

नेपालले पहिलो खेलमा बलियो प्रदर्शन गरे पनि जित निकाल्न असफल रह्यो। दोस्रो खेलमा भने कमजोर खेल देखिँदा टोलीको आलोचना चर्किएको थियो। खासगरी ब्याटिङ र फिल्डिङ दुवै क्षेत्रमा देखिएको अस्थिरता नेपालको मुख्य समस्या बनेको छ। अब पनि यस्तै खेल दोहोरिए परिणाम फेरि पनि निराशाजनक हुने निश्चित छ।

उता वेस्ट इन्डिज प्रतियोगितामा आत्मविश्वासका साथ उत्रिएको छ। अनुभवी खेलाडीहरू र आक्रामक खेलशैलीका कारण वेस्ट इन्डिजलाई सहज प्रतिद्वन्द्वी ठान्नु ठूलो भूल हुनेछ। यद्यपि नेपालले विगतमा वेस्ट इन्डिजविरुद्ध टी–२० क्रिकेटमा जित निकालेको इतिहास छ । 

समूह चरण निर्णायक मोडमा पुगेको अवस्थामा दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण छ। नेपालका लागि यो केवल एक खेल होइन प्रतिस्पर्धात्मक क्रिकेटमा आफू गम्भीर दाबेदार हो भन्ने प्रमाणित गर्ने अवसर हो।