झापा–५ मा ‘भिजन–७’ सार्वजनिक, रञ्जित तामाङको पाँच वर्षमा १७० गौरव आयोजना सम्पन्न गर्ने लक्ष्य

User Image Prime TV News २ हप्ता अगाडि
Image of झापा–५ मा ‘भिजन–७’ सार्वजनिक, रञ्जित तामाङको पाँच वर्षमा १७० गौरव आयोजना सम्पन्न गर्ने लक्ष्य

झापा । झापा–५ का नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘झापा–५ भिजन–७’ सार्वजनिक गरेका छन्। दमकमा आइतबार आयोजित कार्यक्रममा भिजन पेपर सार्वजनिक गर्दै उनले सात प्रमुख भिजनअन्तर्गत ३५ मिसन र २१ लक्ष्य तय गरिएको जानकारी दिए।

राजनीतिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण मानिने झापा–५ का लागि शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा व्यवसाय, भौतिक पूर्वाधार, रोजगारी, सुशासन, सामाजिक समावेशीकरण, संस्कृति र वातावरणलाई प्राथमिकतामा राखिएको छ। तामाङले योजनाबद्ध विकासमार्फत क्षेत्रलाई नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे।

शिक्षातर्फ क्षेत्रभित्रका ८७ सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउने लक्ष्य अघि सारिएको छ। दमकस्थित दमक बहुमुखी क्याम्पसलाई प्रमुख शैक्षिक केन्द्रका रूपमा विकास गर्दै दीर्घकालीन रूपमा विश्वविद्यालयमा रूपान्तरण गर्ने योजना समेटिएको छ।

साथै गौरादह बहुमुखी क्याम्पस, गौरीगन्ज बहुमुखी क्याम्पस तथा गौरादह कृषि क्याम्पसलाई समयानुकूल परिष्कृत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हब बनाउने लक्ष्य राखिएको छ । स्वास्थ्य क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण गरी अत्याधुनिक उपचार प्रविधि भित्र्याउने प्रतिबद्धता जनाइएको छ।

कृषि, उद्योग तथा व्यवसायतर्फ युवालाई उद्यमशीलतामा आकर्षित गर्ने, सहकारीलाई प्रोत्साहन गर्ने तथा औद्योगिकीकरणमार्फत राष्ट्रिय पुँजीको संरक्षण र प्रवर्द्धन गर्ने नीति अघि सारिएको छ । भौतिक पूर्वाधारअन्तर्गत १८ तले बिजनेस कम्प्लेक्स सञ्चालन, विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणका लागि अध्ययन तथा औद्योगिक ग्राम स्थापना जस्ता महत्त्वाकाङ्क्षी मिसन समेटिएका छन्।

भिजन पेपरअनुसार आगामी पाँच वर्षभित्र १७० गौरव आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि निर्वाचन क्षेत्रका २९ वडामा प्रत्येक वर्ष २९ आयोजना, चार स्थानीय तहमा हरेक वर्ष चार–चार आयोजना तथा क्षेत्रीय स्तरमा वार्षिक एक आयोजना कार्यान्वयन गर्ने योजना सार्वजनिक गरिएको छ।

तामाङले झापा–५ लाई योजनाबद्ध विकास, रोजगारी सिर्जना र सुशासनको नमुना क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले ‘भिजन–७’ सार्वजनिक गरिएको स्पष्ट पारे।