अफ्रिकी आयातमा चीनको ऐतिहासिक निर्णय: ५३ देशलाई शून्य भन्सार सुविधा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । चीनले अफ्रिकासँगको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन ५३ अफ्रिकी देशबाट हुने आयातमा शून्य भन्सारशुल्क (जिरो ट्यारिफ) लागू गर्ने घोषणा गरेको छ। कूटनीतिक सम्बन्ध कायम रहेका देशका उत्पादनमा मे १ देखि पूर्ण भन्सार छुट लागू गरिने चिनियाँ पक्षले जनाएको छ।
यसअघि चीनले ३३ अल्पविकसित अफ्रिकी देशका ९७–९८ प्रतिशत वस्तुमा मात्र भन्सार छुट दिँदै आएको थियो। सन् २०२४ मा उक्त सुविधा सबै उत्पादनमा विस्तार गरिए पनि सीमित देशमा मात्र लागू थियो। नयाँ निर्णयसँगै अब लगभग सम्पूर्ण अफ्रिकी महादेशबाट हुने आयातमा शून्य भन्सार दर लागू हुनेछ।
तर इस्वातिनी भने यस व्यवस्थाबाट बाहिर रहनेछ। ताइवानसँग कूटनीतिक सम्बन्ध कायम राखेकाले इस्वातिनी अपवादमा परेको हो। यो कदम अफ्रिकाको विकास र अबसरको भविष्य अनिश्चित बन्दै गएको र युरोपेली युनियनसँग आर्थिक साझेदारी सम्झौतामा देखिएको तनावबीच आएको हो।
दक्षिण अफ्रिकाका व्यापारमन्त्री पार्क्स टाउ र चीनका वाणिज्यमन्त्री वाङ वेन्टाओबीच सहमति पत्रमा हस्ताक्षर भएको बताइएको छ। मार्च २०२६ सम्म ‘अर्ली हार्भेस्ट एग्रिमेन्ट’लाई अन्तिम रूप दिने लक्ष्य राखिएको छ, जसले दक्षिण अफ्रिकी निर्यातलाई चिनियाँ बजारमा शून्य शुल्कको पहुँच दिलाउनेछ।
सन् २०२५ को जनवरीदेखि अगस्टसम्म चीन–अफ्रिका व्यापार १५.४ प्रतिशतले बढेर २२२.०५ अर्ब डलर पुगेको छ। यस अवधिमा चीनबाट अफ्रिकामा हुने निर्यात २४.७ प्रतिशतले वृद्धि भई १४०.७९ अर्ब डलर पुगेको छ भने अफ्रिकाबाट हुने आयात २.३ प्रतिशतले मात्र बढेर ८१.२५ अर्ब डलर पुगेको छ। परिणामस्वरूप अफ्रिकाको व्यापार घाटा ५९.५५ अर्ब डलर पुगेको देखिएको छ।
अफ्रिकी देशहरूले मुख्यतया कच्चा तेल, तामा, कोबाल्ट र फलामजस्ता कच्चा पदार्थ निर्यात गर्दै आएका छन् भने चीनबाट मेसिनरी, इलेक्ट्रोनिक्स र नवीकरणीय ऊर्जाका उपकरण आयात गर्छन्। पछिल्लो एक वर्षमा अफ्रिकाले चीनबाट १५ हजार ३२ मेगावाट क्षमताका सौर्य प्यानल आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले बढी हो।













