देशभरका प्रमुख ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध


काठमाडौ । दशैंमा घर फर्कने यात्रुहरूको चापमा वढी रहेेका बेला देशभरका प्रमुख ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्, भने १६९ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा रहेका छन्। सडक विभागका अनुसार, बाढी र पहिरोका कारण यी सडकहरू अवरुद्ध भएका हुन् । राजमार्ग सहज नहुँदा यात्रुहरुलाई कठिनाई उत्पन्न भएको छ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिएअनुसार, अरनिको राजमार्ग कोदारी आज साँझसम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। विभागले दशैंको समयमा यात्रालाई सहज र सुरक्षित बनाउनका लागि सडक सुधारका कार्य तीव्र पारेको छ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग आइतबार साँझ खुले पनि, सडक सफा गर्नका लागि आज दिउँसो दुई घण्टा बन्द गरिनेछ।
सडक विभागका अनुसार रसुवागढी सडकखण्ड ,कोशी राजमार्ग, तमोर करिडोर, ठोरी प्रमुख राजमार्गहरू अबरुद्ध भएका छन् । सडक विभागले यी अवरुद्ध सडकहरू खुलाउनका लागि स्काभेटर र लोडर जस्ता उपकरणहरूको प्रयोग गरिरहेको छ।
यसैबीच, सडक विभागले दशैंको अवसरमा देशभरका राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने कामलाई पनि प्राथमिकता दिएको छ।