महाशिवरात्रि एकता, सद्भाव र समृद्धिको सन्देशः गगनकुमार थापा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले महाशिवरात्रिको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गर्ने र आपसी सद्भाव, सहिष्णुता तथा एकताको सन्देश प्रवाह गर्ने बताएका छन्।
सभापति थापाले धार्मिक र सांस्कृतिक पर्वहरूले हाम्रो मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे। उनले भने, “हिन्दू धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा, भक्ति र आस्थाका साथ भगवान् शिवको आराधना गरी मनाउने ‘महाशिवरात्रि’ हाम्रो धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको पवित्र पर्व हो।”
थापाले नेपालको विविध जातजाति, भाषा, धर्म र संस्कृतिलाई महाशिवरात्रि लगायतका पर्वहरूले एकताको भाव सुदृढ गर्दै आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउने योगदान गरेको बताए।
सभापति थापाले सबैमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भगवान् शिवको कृपाले सबैमा सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्रदान होस् भन्ने कामना गरेका छन्।













