नरेन्द्र मोदीलाई बंगलादेशको नयाँ मन्त्रिपरिषद्को शपथग्रहणमा निमन्त्रणा

User Image Prime TV News २ हप्ता अगाडि
Image of नरेन्द्र मोदीलाई बंगलादेशको नयाँ मन्त्रिपरिषद्को शपथग्रहणमा निमन्त्रणा

काठमाडौ । बंगलादेशको नयाँ मन्त्रिपरिषद्को शपथग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई सहभागी हुन निमन्त्रणा गरिएको छ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले भारतसहित १३ देशका सरकार प्रमुखहरूलाई निमन्त्रणा पठाएका छन्। निमन्त्रित देशहरूमा चीन, साउदी अरब, पाकिस्तान, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया, ब्रुनाइ, श्रीलंका, नेपाल, माल्दिभ्स र भुटान रहेका छन्। समारोह १७ तारिखमा आयोजना हुने छ।

बंगलादेशको १२ फेब्रुअरीमा सम्पन्न चुनावमा बंगलादेश नेसनलिस्ट पार्टले ३०० सिटमध्ये २०९ सिट जितेर स्पष्ट बहुमत हासिल गरेको छ। जमात–ए–इस्लामीले ६८ सिटमा सफलता पाएको छ। बीएनपी अध्यक्ष तारिक रहमान आगामी प्रधानमन्त्री बन्ने भएका छन्। चुनाव नतिजापछि मोदीले रहमानलाई बधाई दिईसकेका छन्, भने बीएनपीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा मोदीलाई धन्यवाद व्यक्त गरेको छ।

हालसम्म भारतले नयाँ सरकारसँगको सम्बन्धबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। शपथग्रहणमा मोदीको सहभागिता चासोको विषय बनेको छ। बीएनपीले आफ्नो चुनावी अभियानमा “सबैसँग मित्रता” नीति अपनाउने वाचा गरेको छ भने रहमानले भारतसँग बहुआयामिक सम्बन्ध सुदृढ गर्ने प्रतिवद्धता जनाएका छन्।

शपथग्रहण समारोहको स्थलमा पनि परिवर्तन गरिएको छ। बंगलादेशको अखबार द डेली स्टारका अनुसार मन्त्रिपरिषद्को शपथग्रहण अब बंगभवनको दरबार हलमा नहुने भएको छ। नयाँ सरकारले राष्ट्रिय संसदको साउथ प्लाजाबाट आफ्नो कार्यकाल सुरु गर्ने योजना बनाएको छ। नवनिर्वाचित सांसदहरूको शपथग्रहण मंगलबार बिहान १० बजे र मन्त्रिपरिषद्को शपथग्रहण त्यसै दिन साँझ ४ बजे हुने तय भएको छ।