सल्यानमा चुनावी अभियान व्यापक बनाउँदै नेपाली कम्युनिष्ट पार्टी

User Image Prime TV News २ हप्ता अगाडि
Image of सल्यानमा चुनावी अभियान व्यापक बनाउँदै नेपाली कम्युनिष्ट पार्टी

सल्यान । प्रतिनिधि सभा निर्वाचनमा होमिएका नेपाली कम्युनिष्ट पार्टी सल्यानका उम्मेदवार रमेश मल्ल गाउँ गाउँमा मतदाताहरु भेट्दै हिडेका छन्। मतदातासँग जनभेटघाट तथा जनभेला गर्दै हिडेका मल्लले आज बागचौर र दार्माका विभिन्न वडा र गाउँमा पुगेर मतदाता भेटेका हुन्।

बागचौर नगरपालिका- ५ सिलनेटा, खत्रीगाउँ, धारापानी, बाङ्गेलाँखुरी लगायतका मतदातासँग भेटघाट गर्दै चुनावी अभियान शुरु गरेका मल्लले दिउँसो बागचौर-४ पेदीखोलामा बाजागाजा र झाँकीसँगैको भव्य र्‍याली र जनसभालाई सम्बोधन गरेका थिए। जनसभालाई नेताहरु प्रकाश ज्वाला, टेकबहादुर बस्नेत, भीमप्रकाश शर्मा, कृतिबहादुर पुन, कल्पना मगर लगायतले पनि सम्बोधन गरेका थिए।

सो क्रममा उम्मेदवार मल्लले सल्यानी जनताका हरेक समस्यालाई संसदमा पुर्‍याउने, जिल्लाको विकासका लागि सहजीकरण गर्ने र सल्यानी जनताको दुःख सुखमा सधैँ सँगै रहने प्रतिबद्धता जनाए। नीतिगत सुधार र जनपक्षीय कानून निर्माणका कामका लागि आफूले काम गर्ने भन्दै मल्लले जिल्लाको भौतिक पूर्वाधारको विकासका लागि सहजीकरण गर्ने र खबरदारी गरिरहने बताए।

निर्वाचन परिचालन समिति, सल्यानका संयोजक तथा पूर्वमन्त्री प्रकाश ज्वालाले विगतमा शुरु भएका अपूरा कामहरु पूरा गर्न र थप विकासका योजनाहरुसहित सल्यानको समग्र विकासका लागि रमेश मल्ल उपयुक्त पात्र भएको उल्लेख गर्दै तारा चिन्हमा मतदान गरि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

निर्वाचन परिचालन समिति, सल्यानका सह-संयोजक तथा पूर्वमन्त्री टेकबहादुर बस्नेतले युवाहरुको भावना र चाहनालाई मध्यनजर गरि पार्टीले नयाँ र अनुभवी युवा नेतालाई उम्मेदवार बनाएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताए।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भीमप्रकाश शर्माले नीति निर्माण गर्ने संघीय संसदमा सल्यानले अहिले सक्षम, जुझारु र युवा नेतालाई आफ्नो पार्टीले अघि सारेको भन्दै सल्यानी जनताले रमेश मल्ललाई जिताएर यो अवसर गुमाउन नहुने बताए। 

बागचौर नगरबाट उम्मेदवारसहितको टोलीले दार्मा गाउँपालिका प्रवेश गरेको छ। दार्मा गाउँपालिका-६ अरबारे र वडा नं. ६ ढाकाडाममा आयोजित जनभेलालाई नेपाली कम्युनिष्ट पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार रमेश मल्ल, समानुपातिक उम्मेदवार शारदा परियार, निर्वाचन परिचालन समितिका सह संयोजक तथा पूर्वमन्त्री टेकबहादु बस्नेत लगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा समानुपातिक उम्मेदवार परियारले महिला, दलित, उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको अधिकार र हितका लागि लड्ने पार्टी नेपाली कम्युनिष्ट मात्रै भएको चर्चा गर्दै पछि पारिएका सबै जनताले आफ्नो असली पार्टीलाई चिन्नुपर्ने बताइन्। 

गणतन्त्र, संघीयता, समावेशी/समानुपातिक प्रणाली जस्ता जनपक्षीय मुद्धा अहिलेको नेपाली कम्युनिष्ट पार्टीकै कारण सम्भव भएको भन्दै उनले नेपाली कम्युनिष्ट पार्टीको तारा चुनाव चिन्हमा मतदान गर्न आग्रह गरिन्।