तनहुँका कृषकले ४५ करोड ५० लाखको सुन्तला बिक्री
Prime TV News २ हप्ता अगाडि 
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाखको सुन्तला बिक्री गरे । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट छन् ।
गाउँको भिरालो जमिनलाई सदुपयोग गरी अधिकारीले २०५२ देखि व्यावसायिक सुन्तलाखेती सुरु गरेका थिए । सुन्तला खरिदका लागि बगानमै ठेकेदार आउने गरेको बताउँदै उनले बजारीकरणमा समस्या नरहेको सुनाए ।
त्यसैगरी, व्यास नगरपालिका–१३ बेनीकोटका कृषक दलबहादुर थापाले यो सिजनमा १६ लाखको सुन्तला बिक्री गरे । अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन लाख बढीको सुन्तला बिक्री भएको उनको भनाइ छ ।
विदेशबाट फर्किएर सुन्तलाखेतीमा लागेका गिरबहादुरले यस वर्ष तीन लाख ५० हजारको सुन्तला बिक्री गरेको बताउँछन् । यी त केही उदाहरण हुन् । यस वर्ष तनहुँका कृषकले ४५ करोड ५० लाखको सुन्तला बिक्री गरेका छन् । गत वर्ष यहाँका किसानले ४२ करोड ५० लाखको सुन्तला बिक्री गरेका थिए ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले यस वर्ष ५८२१.९ मेट्रिकटन सुन्तला बिक्री भएको जानकारी दिए । उनका अनुसार यस वर्ष ११८२१.७ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा १६७० हेक्टर सुन्तलाखेतीको क्षेत्रफल रहेकामा ९७७ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको परियारले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिकास्थित डुम्रीखर्क, डाँडापानी, खोलागाउँ, झारपुङ, घिरिङ गाउँपालिकास्थित च्याचुल, उवाथोक, मेवापानी, पोखरीछाप, देवघाट गाउँपालिकास्थित नरम, छिपछिपे सुन्तलाका पकेट क्षेत्र हुन् ।
यस्तै, लुम्रिङ, दगारा, भिमाद नगरपालिकास्थित अक्सपाङ्दी, चामबोट, कोखे, म्याग्दे गाउँपालिकास्थित बहपुर, उमाचोक, छाङ, ऋषिङ गाउँपालिकास्थित अर्चल्दी, दुवुङ, बन्दीपुर गाउँपालिकास्थित धरमपानी, कमलबारी, काफलस्वारा, झारगाउँ, बासपानी, व्यास नगरपालिकास्थित तनहुँसुर, बेनीकोट र शुक्लागण्डकी नगरपालिकास्थित नाम्सीकोट र ज्याङ्लादीलाई सुन्तला उत्पादनको पकेट क्षेत्र तोकिएको छ ।
यस्तै, आर्थिक वर्ष ०८०/८१ मा ३० करोडबराबरको सुन्तला उत्पादन भएको थियो । त्यतिबेला तीन हजार ७५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा सुन्तलाखेतीतर्फ आकर्षण बढेसँगै सुन्तला उत्पादनमा वृद्धि भएको परियारको भनाइ छ ।
तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । रासस












