ओलीको टिप्पणी: चुनावको वातावरण अझै स्पष्ट छैन
Prime TV News २ हप्ता अगाडि 
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समयमा चुनावको वातावरण पूर्ण रूपमा तय भएको जस्तो नदेखिएको बताएका छन्।
आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि।” ओलीले आफ्नो पार्टी चुनाव भए भाग लिने तयारीमा रहेको स्पष्ट पारेका छन्। उनले थपे, “चुनाव त हुन्छ भन्ठान्छु अब।”
उनले सरकारकै जिम्मेवारी रहेको भन्दै चुनावको वातावरणबारे सरकारले धेरै कुरा जान्ने भएकाले हालको अवस्था अझै सुनिश्चित नभएको बताए। यसैबीच, ओलीले आफ्नो चुनावी अभियानका क्रममा सकेसम्म सबै ठाउँमा पुग्ने योजना रहेको पनि जानकारी दिएका छन् ।
उनले ओलीले नेपाल पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने जिकिर गरेका छन्। उनले नेपालको चुनावलाई बंगलादेशसँग तुलना गरेका हुन्। बंगलादेशमा आन्दोलनबाट आएको दलले ६ सिट मात्रै जितेको थियो। चुनावमा प्रतिस्पर्धा गरेका पुरानै दल बलियो भएर आएका थिए।
चुनावी अभियानका लागि उनी काठमाडौँबाट आइतबार झापा फर्किएका हुन्। उनी झापा-५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छन्। केही दिन काठमाडौँ बसेर फेरि आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका ओलीले मतदाता भेट्ने र गुनासो सुन्ने बताए। अबका केही दिन आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने उनको तयारी छ।













