नेपाल टी-२० विश्वकप २०२६ मा समूह चरणबाट बाहिरियो, वेस्ट इन्डिजसँग ९ विकेटले पराजित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह सी को खेलमा नेपालले दुई पटकको विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
लगातार तीन हार बेहोरेको नेपाल यस समूहमा अंकविहीन रह्यो भने वेस्ट इन्डिजले लगातार तीन जितपछि सुपर एटमा पुग्ने पहिलो टिमको रुपमा आफ्नो स्थान सुरक्षित गर्यो। नेपालले टस हारेर पहिले ब्याटिङ गर्दा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो।
उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाउँदै नेपाली इनिङ्सलाई हेर्नलायक बनाएका थिए। दीपेन्द्रले सोमपाल कामीसँग मिलेर ५४ रनको साझेदारी गरे भने गुल्सन झासँग २७ रनको साझेदारीमा योगदान दिए।
नेपालले पावर प्लेमा ६ ओभरमा केवल २२ रन मात्र बनाउँदै ३ विकेट गुमाएको थियो, जुन नेपालको टी-२० विश्वकपमा सबैभन्दा कम स्कोर हो। कुशल भुर्तेल लगातार दोस्रो खेलमा सिंगल डिजिटमा आउट भए। रोहित पौडेल ५, आसिफ शेख ११, आरिफ शेख २ र लोकेश बम ११ रनमा आउट हुँदा नेपालको शुरुवात कमजोर रह्यो।
वेस्ट इन्डिजले दिएको १३४ रनको लक्ष्य १५.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। कप्तान शाई होपले ४४ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६१ अविजित रन बनाए भने शिमरोन हेतमायरले ४३ बलमा ४ चौका र २ छक्कासहित ४६* रन बनाए। दोस्रो विकेटका लागि होप र हेतमायरले अविजित ९१ रनको साझेदारी गर्दै जीत सुनिश्चित गरे। नेपालका लागि नन्दन यादवले १ विकेट लिए।
समूह सी मा वेस्ट इन्डिज अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा छ। इंग्ल्यान्ड ४ अंकसहित दोस्रो, स्कटल्याण्ड र इटली समान २–२ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन्। नेपाल लगातार तीन हारपछि समूह चरणबाट बाहिरिएको दोस्रो टिम बनेको छ। नेपालले अब मंगलबार स्कटल्याण्डसँग खेल्ने अन्तिम खेलमा केवल प्रतिष्ठाको लागि मैदानमा हुनेछ।
यस खेलबाट सोमपाल कामी नेपालका लागि तीन टी-२० विश्वकप खेल्ने पहिलो र एकमात्र खेलाडी बने। उनले सन् २०१४ मा पहिलो विश्वकपमा खेल्दै आएदेखि लगातार तीन विश्वकपमा सहभागिता जनाएका छन्।













