उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र आइतबार राजधानीमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरेको छ। “गफ होइन काम, भाषण होइन परिणाम” भन्ने मूल नारासहित प्रस्तुत घोषणापत्रमा पार्टीले शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई प्राथमिकता दिएको छ।
पार्टीले शासकीय सुधारअन्तर्गत प्रदेशमा स्थायित्व सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेन्डा अघि सारेको छ। त्यसैगरी, संघीय सांसदको संख्या २७५ बाट २०१ र प्रदेश सांसदको संख्या ५५० बाट ३३० मा घटाउने साथै मन्त्रालयको संख्या कटौती गर्ने योजना सार्वजनिक गरिएको छ।
भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने पार्टीको नीति अनुसार भ्रष्टाचारीलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध लगाइने र उनको सम्पत्ति राष्ट्रियकरण गरिने प्रतिवद्धता राखिएको छ। मतदाताले उम्मेदवार मन नपरेको अवस्थामा ‘नो भोट’ विकल्प प्रयोग गर्न पाउने सुविधा पनि घोषणापत्रमा समावेश गरिएको छ।
आर्थिक र सामाजिक क्षेत्रमा पार्टीले महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ। सन् २०३० सम्म वार्षिक ९ प्रतिशत आर्थिक वृद्धि र हरेक वर्ष ९ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको छ। “उज्यालो नेपाल” अभियानअन्तर्गत हरेक घरपरिवारलाई जलविद्युत् आयोजनाको कम्तीमा १ हजार कित्ता सेयर प्राथमिक मूल्यमा उपलब्ध गराउने बाचा गरिएको छ।
त्यस्तै, विश्वविद्यालय तहसम्मको शिक्षा निःशुल्क उपलब्ध गराउने, तोकिएको स्वास्थ्य संस्थामा स्वास्थ्य उपचार निःशुल्क गर्ने र विद्यार्थीलाई “कमाउँदै पढ्दै” नीतिअन्तर्गत इन्टर्नसिपको व्यवस्था गर्ने प्रतिबद्धता पनि प्रस्तुत गरिएको छ।













