गोसाइँकुण्ड जाने तीर्थयात्रु प्रतिकूल मौसमका कारण प्रभावित

User Image Prime TV News २ हप्ता अगाडि
Image of गोसाइँकुण्ड जाने तीर्थयात्रु प्रतिकूल मौसमका कारण प्रभावित

काठमाडौ । रसुवाको उच्च हिमाली क्षेत्रमा महाशिवरात्रि पर्वको अवसरमा गोसाइँकुण्ड जाने तीर्थयात्रुहरू प्रतिकूल मौसमका कारण समस्या झेलिरहेका छन्। लौरिविनायकदेखि गोसाइँकुण्डसम्म बाक्लो कुहिरो लागेपछि हवाई सेवा अवरुद्ध भएको छ।

स्थानीय व्यवसायीका अनुसार, अचानक मौसम बिग्रँदा प्रभु एयर र अल्टिच्युट एयरका तीन वटा हेलिकप्टर चन्दनबारीबाटै फर्किनु परेको छ। कम्पनीहरूले यात्रुहरूलाई सुरक्षित रूपमा काठमाडौँ फर्काएका छन्। प्रतिकूल मौसमका कारण ५० भन्दा बढी तीर्थयात्रु प्रभावित भएका छन्।

सिम्रिक एयर, फिस्टेल एयर, अन्नपूर्ण एयर र मुस्ताङ एयरका केही कम्पनीका हेलिकप्टर बिहानै उडान भरेका थिए भने केही कम्पनीका हेलिकप्टर बिहान ११ बजेपछि मात्र रोकिएका थिए। गोसाइँकुण्डको शिव मन्दिरमा सिम्रिक एयरको तर्फबाट शास्त्रीय विधिपूर्वक पूजा–आराधना सम्पन्न गरिएको थियो।

कम्पनीका कार्यकारी निर्देशक विष्णु बस्नेत र पुरोहित ऋषिकेश भट्टराईसहितको टोलीले मन्दिर र कुण्ड परिसरमा विशेष पूजा गरेका थिए। धार्मिक विश्वासअनुसार पवित्र कुण्डमा स्नान गरी भगवान शिवको पूजा गर्दा रोगव्याध हट्ने, सुख–शान्ति प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।