प्रगतिशील लोकतान्त्रिक पार्टीले सार्वजनिक गर्यो आफ्नो चुनावी घोषणापत्र
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका पूर्वसन्ध्यामा प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो घोषणापत्रमा “सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधीन राष्ट्र” भन्ने मूल नारालाई प्रमुख आधार बनाएको छ।
घोषणापत्र अनुसार, प्रलोपा देशको राजनीतिक अस्थिरता अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने मुख्य योजना अघि सारेको छ। पार्टीले संसदीय व्यवस्थाले केवल सरकार परिवर्तनको खेल मात्र बढाएको भन्दै संसदको भूमिकालाई कानुन निर्माणमा मात्र सीमित राख्ने र मन्त्रिपरिषदलाई स्वतन्त्र विज्ञबाट गठन गर्ने प्रतिबद्धता जनाएको छ।
आर्थिक क्षेत्रमा पार्टीले राष्ट्रिय विकास प्राधिकरण गठन गर्ने प्रस्ताव गरेको छ, जसको लक्ष्य पहिलो ५ वर्षभित्र आम गरिबी अन्त्य, १० वर्षभित्र मध्यम आय भएको मुलुक, र २५ वर्षभित्र विश्वकै उच्च आय भएको मुलुक बनाउनु रहेको छ। कृषि र ऊर्जा क्षेत्रमा पाँच वर्षभित्र कृषिमा आत्मनिर्भरता र १० वर्षभित्र विद्युत आयात शून्य, साथै हरित ऊर्जा र हाइड्रोजन ऊर्जा विकासको महत्वाकांक्षी योजना अघि सारिएको छ ।
सामाजिक क्षेत्रमा प्रलोपा शिक्षा र स्वास्थ्यलाई राज्यको पूर्ण दायित्व बनाउने, उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा र आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने योजना अघि सारेको छ। युवाहरूका लागि ‘युवा रोजगार कोष’ मार्फत २१–३० वर्ष उमेर समूहलाई वार्षिक १०० दिन रोजगार वा बराबरको बेरोजगारी भत्ता प्रदान गरिनेछ। एकल महिला, ज्येष्ठ नागरिक र सीमान्तकृत समुदायका लागि एकीकृत सामाजिक सुरक्षा योजना लागु गरिने घोषणापत्रमा उल्लेख छ।
सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा पार्टीले जनलोकपाल गठन गर्ने र निर्वाचन कानुनमा सुधार गर्दै मतदातालाई ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ दिने योजना सार्वजनिक गरेको छ। साथै, सार्वजनिक सेवा प्रवाह चुस्त बनाउन इ–गभर्नेन्स प्रणाली लागु गर्ने र कर्मचारीतन्त्रलाई नतिजामुखी बनाउने प्रस्ताव राखिएको छ।
राष्ट्रिय स्वाधीनता र परराष्ट्र नीतिमा पार्टीले पञ्चशील सिद्धान्तमा आधारित सन्तुलित नीति अपनाउने, लिम्पियाधुरा, कालापानी र लिपुलेकजस्ता सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने र राष्ट्रिय हित विपरीत सन्धि/सम्झौता पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएको छ।
प्रलोपा आफ्नो चुनाव चिन्ह “आँखा” लिएर चुनावी मैदानमा उत्रिएको छ र आफूलाई परम्परागत दलहरूको विकल्प र अग्रगामी विचारसहितको विकल्पका रूपमा प्रस्तुत गर्दै मतदातालाई नयाँ सोचको पक्षमा मतदान गर्न अपिल गरेको छ।













