बीएलएको दाबीअनुसार ७ पाकिस्तानी सैनिक अझै बन्दी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सक्रिय सशस्त्र विद्रोही संगठन बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले ७ जना पाकिस्तानी सैनिक अझै आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै इस्लामाबादमाथि प्रत्यक्ष दबाब बढाएको छ।
घटनाले बलुचिस्तानमा सुरक्षा संयन्त्र कति कमजोर छ भन्ने कुरा फेरि एकपटक स्पष्ट पारेको छ। बीएलएको भनाइअनुसार आइतबार १७ जना पाकिस्तानी सुरक्षाकर्मीलाई नियन्त्रणमा लिइएको थियो।
तीमध्ये १० जनालाई रिहा गरिएको र बाँकी ७ जनालाई ‘युद्ध बन्दी’ को रूपमा राखिएको दाबी गरिएको छ। संगठनले पाकिस्तान सरकारलाई एक हप्ते समयसीमा दिँदै आफ्ना बन्दी बलुच लडाकुहरू रिहा नगरे सैनिकहरू नछोडिने चेतावनी दिएको छ।
बीएलएका प्रवक्ता जियान्ड बलोचको नाममा जारी विज्ञप्तिमा रिहा गरिएका १० जना स्थानीय प्रहरीसँग सम्बन्धित बलुच भएको उल्लेख गरिएको छ। उनीहरूलाई “अन्तिम चेतावनी” दिएर छाडिएको भनाइले बीएलएले संघर्षलाई जातीय र राजनीतिक पहिचानसँग जोडेर प्रस्तुत गर्न खोजेको देखिन्छ।
यस गम्भीर दाबीबारे पाकिस्तानी सेना वा संघीय सरकारबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। सुरक्षा स्रोतहरूको मौनताले घटनाको गम्भीरता झन् बढाएको छ र राज्यको रणनीतिक असफलतामाथि प्रश्न उठाएको छ।
बीएलए बलुचिस्तानलाई पाकिस्तानबाट अलग स्वतन्त्र राष्ट्र बनाउने लक्ष्यसहित सशस्त्र संघर्षमा रहेको समूह हो। सन् २००० को दशकदेखि सक्रिय यस संगठनलाई पाकिस्तान र अन्य केही देशले आतंकवादी संगठनको सूचीमा राखेका छन्। तर बलुच क्षेत्रमा संगठनको निरन्तर प्रभावले सैन्य कारबाही मात्र पर्याप्त नहुने यथार्थ देखाइरहेको छ।













