घरदैलो अभियानमा रेनु दाहाल, ‘जनताको माया र विश्वासले थप जिम्मेवार बनाएको छ’
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेनु दाहाल यतिबेला तीव्र घरदैलो अभियानमा सक्रिय छिन्। अभियानका क्रममा आम मतदाताबाट प्राप्त माया, विश्वास र समर्थनले आफूलाई उत्साहित र थप जिम्मेवार बनाएको उनले बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाहालले जनतासँग प्रत्यक्ष भेटघाटका क्रममा सकारात्मक प्रतिक्रिया पाइरहेको उल्लेख गरेकी छन्। उनका अनुसार मतदातासँगको संवादले आगामी योजनालाई अझ प्रभावकारी रूपमा अघि बढाउन ऊर्जा प्रदान गरेको छ।
भरतपुर महानगरपालिकामा करिब ९ वर्ष मेयरको जिम्मेवारी सम्हालेको अनुभवलाई उनले आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेकी छन्। सो अवधिमा देखाएको प्रतिबद्धता, पारदर्शिता र विकासमुखी कार्यशैलीकै कारण जनताबाट स्नेह प्राप्त भएको उनको दाबी छ।
निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण प्रक्रिया भएकाले परिणाम जे आए पनि स्वीकार गर्न तयार रहेको उनले स्पष्ट पारेकी छन्। साथै, स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनका लागि सबै राजनीतिक दल, उम्मेदवार र मतदाताको सहकार्य आवश्यक रहेको बताउँदै उनले लोकतान्त्रिक मूल्य र संस्कृतिको सम्मान गर्न आह्वान गरेकी छन्।
चितवन–३ मा निर्वाचन गतिविधि तीव्र बन्दै जाँदा उम्मेदवारहरू आ–आफ्ना एजेन्डा र योजनासहित मतदातासमक्ष पुगिरहेका छन्। यस्तो अवस्थामा दाहालको सक्रियता र जनसम्पर्क अभियानले क्षेत्रको चुनावी माहोललाई थप तातेको बनाएको छ।












