प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ आज सकिने, ढुवानी तीव्र
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ले प्रत्यक्षतर्फका बाँकी मतपत्र आजै छपाइ सम्पन्न गर्ने जनाएको छ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार अब पाँच लाख मतपत्र मात्र छाप्न बाँकी रहेको छ। ती सबै मतपत्र बागमती प्रदेशका हुन् र आज दिनभरमै छपाइ सकिने उनले जानकारी दिए।
प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख मतपत्र छाप्नुपर्नेमा अब अन्तिम पाँच लाख मात्र बाँकी रहेकाले निर्धारित ४२ दिने कार्यतालिकाभन्दा अगाडि नै काम सकिन लागेको हो। “४२ दिनको कार्यतालिका लिएर सुरु गरेका थियौं, ४० दिनमै छपाइ सम्पन्न गर्दैछौं,” पौडेलले बताए।
छपाइ सकिएसँगै मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गर्ने तयारी गरिएको छ। केन्द्रका अनुसार दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छाप्दै लक्ष्यभन्दा अगाडि काम गरिएको हो। छपाइ सम्पन्न भएका १० लाख नमूना मतपत्र निर्वाचन आयोग ले विभिन्न स्थानमा वितरण गरिसकेको छ।
यस्तै, समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरिएको छ र जिल्ला–जिल्लामा पठाउने काम जारी रहेको जनाइएको छ। पौडेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक सबै मतपत्र पुगिसकेको छ भने अन्य प्रदेशमा पनि १२ गतेसम्म मतपत्र पुर्याउने लक्ष्यका साथ ढुवानी कार्य भइरहेको छ।
निर्वाचन तयारीलाई समयमै पूरा गर्न केन्द्रले तीव्र गतिमा काम गरिरहेको जनाएको छ।













