पूर्वी युरोपसँग श्रम सम्झौता विस्तारमा नेपाल सरकारको तीव्र पहल

User Image Prime TV News २ हप्ता अगाडि
Image of पूर्वी युरोपसँग श्रम सम्झौता विस्तारमा नेपाल सरकारको तीव्र पहल

काठमाडौ । नेपाल सरकारले नेपाली श्रमिकका लागि सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित गर्ने उद्देश्यले पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रक्रिया तीव्र पारेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएसिया, माल्टा लगायत १६ युरोपेली मुलुकसँग औपचारिक रूपमा श्रम सम्झौताको प्रस्ताव पठाएको जनाएको छ। मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेका अनुसार राम्रो आय आर्जन र मानव अधिकारको अवस्था सुदृढ भएका देशमा नेपाली श्रमिक पठाउने उद्देश्यले गृहकार्य भइरहेको छ।

उनका अनुसार प्रस्तावमा श्रम सम्झौताको मस्यौदा र औपचारिक अनुरोध समावेश गरिएको छ। परराष्ट्र मन्त्रालय र सम्बन्धित देशस्थित नेपाली दूतावासमार्फत कूटनीतिक पहलसमेत अघि बढाइएको छ। “खासगरी पूर्वी युरोपका १६ वटा मुलुकसँग दुईपक्षीय श्रम सम्झौता गर्न प्रस्ताव पठाएका छौँ। अहिले रोमानिया बाहेक अन्य देशसँग सम्झौता हुन सकेको छैन। यो विषय प्राथमिकतामा छ,” उनले बताए।

पछिल्ला वर्षहरूमा रोमानिया, क्रोएसिया, माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रूपमा उदाएका छन्। आकर्षक तलब, श्रम अधिकारको संरक्षण र तुलनात्मक रूपमा सुरक्षित कार्य वातावरणका कारण यी देशमा नेपाली कामदारको संख्या बढ्दो छ।

तर औपचारिक श्रम सम्झौता नहुँदा ठगी, असमान तलब, करार उल्लंघन तथा सामाजिक सुरक्षामा समस्या जस्ता जोखिम कायम छन्। हाल धेरै नेपाली श्रमिक व्यक्तिगत श्रम स्वीकृति लिएर ती देशमा गइरहेका छन्, जसले उनीहरूलाई कानुनी र संस्थागत संरक्षणबाट वञ्चित गराउने खतरा रहेको सरोकारवालाहरू बताउँछन्।

सरकारले द्विपक्षीय श्रम सम्झौता मार्फत न्यूनतम तलब, कामको समय, बीमा, स्वास्थ्य सेवा र आवासलगायतका विषय स्पष्ट रूपमा सुनिश्चित गर्ने लक्ष्य लिएको छ। मन्त्रालयका अनुसार छिट्टै केही देशसँग परिणाममुखी सम्झौता हुने अपेक्षा गरिएको छ।