सैनिक मञ्चमा अमेरिकी सेनाको ‘परेड’बारे विप्लव नेतृत्वको नेकपाको आपत्ति, सरकारसँग धारणा माग

User Image Prime TV News २ हप्ता अगाडि
Image of सैनिक मञ्चमा अमेरिकी सेनाको ‘परेड’बारे विप्लव नेतृत्वको नेकपाको आपत्ति, सरकारसँग धारणा माग

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सैनिकमञ्च टुँडिखेलमा अमेरिकी सेनाले ‘परेड’ खेलेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरू तथा नेपाली जनतालाई जानकारी नदिई गरिएको सैन्य गतिविधिलाई राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथिको गम्भीर खेलवाडको संज्ञा दिएका छन्।

विज्ञप्तिमा फागुन ३ गते नेपाली सेना दिवसका अवसरमा काठमाडौंस्थित सैनिक मञ्चमा अमेरिकी सेनाले परेड खेलेको दृश्य सार्वजनिक भएको उल्लेख गर्दै यसले व्यापक चासो र बहस उत्पन्न गरेको जनाइएको छ। अमेरिकी हस्तक्षेपबारे विभिन्न कोणबाट बहस भइरहेका बेला यस्ता गतिविधि हुनु चिन्ताजनक रहेको पार्टीको ठहर छ।

पार्टीले सरकारसँग उक्त घटनाबारे आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ। साथै, भविष्यमा यस्ता संवेदनशील विषयमा पारदर्शिता अपनाउन र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर निर्णय गर्न आग्रह गरिएको छ।