मधेश प्रदेशमा १५ दिने मध्य मिथिला परिक्रमा आजदेखि सुरु

User Image Prime TV News २ हप्ता अगाडि
Image of मधेश प्रदेशमा १५ दिने मध्य मिथिला परिक्रमा आजदेखि सुरु

धनुसा । धार्मिक र ऐतिहासिक महत्व बोकेको मध्य मिथिला परिक्रमा आजदेखि मिथिला बिहारी नगरपालिका कचुरीबाट सुरु भएको छ। १५ दिने यो परिक्रमा फाल्गुन औँसीदेखि पूर्णिमासम्म सञ्चालन हुनेछ।

सोमबार मिथिला बिहारी मठबाट भगवान् राम–जानकीको डोला निकालिएको छ। यस परिक्रमाले धनुषा, महोत्तरी र भारतको बिहार राज्यका दर्जनौँ स्थल समेट्दै करिब १२० किलोमिटर पदयात्रा तय गर्नेछ, जसमा ९० किलोमिटर नेपाल र ३० किलोमिटर भारतमा पर्छ।

मध्य मिथिला परिक्रमा १८औँ शताब्दी अघि सुरु भएको मान्यता छ। विष्णु पुराण अनुसार तीन प्रकारका मिथिला परिक्रमा छन्र र बृहत् परिक्रमा विरलै सन्त–महात्माले मात्र गर्ने गरेको जनाइएको छ। परिक्रमा कल्याणेश्वरबाट सुरु भएर पुनः त्यहीँ पुगेर सम्पन्न हुन्छ। प्रत्येक विश्रामस्थलमा मिथिला माहात्म्यको कथा वाचन हुने परम्परा छ। कुल १५ विश्रामस्थल मध्ये चार भारतमा र बाँकी नेपालमा छन्।

आजको डोलाको यात्रामा परम्परागत बाजागाजा र मौलिक मिथिला पहिरनमा सजिएका श्रद्धालु सहभागी छन्। पदयात्रावासीले क्रमशः हनुमाननगर, कल्याणेश्वर, फूलहर, मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुणा र विसौल हुँदै १५औँ दिन अन्तरगृह परिक्रमा गरी मध्य परिक्रमा सम्पन्न गर्नेछन्।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले डोला उठाएर परिक्रमाको उद्घाटन गरे। उनले रामायण सर्किटलाई प्राथमिकताका साथ अगाडि बढाउने र अयोध्याबाट जनकपुरधामसम्म प्रत्यक्ष उडान सञ्चालन गर्ने योजना अघि बढाउने बताए।