निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन विरुद्ध सक्रिय अनुगमन

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन विरुद्ध सक्रिय अनुगमन

काठमाडौ । निर्वाचन आयोगले केन्द्रीय आचारसंहिता उल्लङ्घनका सम्बन्धमा प्राप्त उजुरीको आधारमा राजनीतिक दल, उम्मेदवार, सरकारी र गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा पत्रकारसँग स्पष्टीकरण माग्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार हालसम्म ६६ उजुरी प्राप्त भई ३२ जवाफ प्राप्त भएका छन् र ती जवाफको अध्ययन भइरहेको छ। दर्ता भएका सञ्चारमाध्यम र उनीहरूका पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत आवश्यक कारबाहीका लागि पठाइएको छ। जिल्ला स्तरमा पनि उजुरी प्राप्त भई आवश्यक जाँचबुझ र कानुनी कारबाही भइरहेको छ।

आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयमा र प्रमुख कोष नियन्त्रक/कोप नियन्त्रकलाई आर्थिक विषयमा आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। आयोगका अनुसार यसरी जिल्लास्तरमा अनुगमन प्रभावकारी बनाइएर सबै सरोकारवालालाई आचारसंहिता पालनामा प्रतिबद्ध गराउने कार्य भइरहेको छ।

मोहनराज जोशीले भने, “केन्द्रीय र जिल्ला स्तरका अनुगमन समितिहरू सक्रिय छन् र उल्लङ्घन न्यूनीकरणका लागि आवश्यक सबै प्रक्रिया अघि बढाइरहेका छौँ।”