चुनावमा केन्द्रित हुन कुलमान घिसिङको आग्रह
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा पूर्ण रूपमा केन्द्रित हुन आह्वान गरेका छन्। विभिन्न जिल्लाबाट आएका नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले संगठन विस्तारसँगै चुनावी अभियानलाई तीव्र बनाउन निर्देशन दिएका हुन्।
पार्टी निर्माणकै चरणमा रहेको उल्लेख गर्दै घिसिङले कामको आधारमा जिम्मेवारी प्रदान गरिने स्पष्ट पारे। उनले चुनावपछि महाधिवेशन आयोजना गरिने र त्यसपछि औपचारिक रूपमा सबैलाई जिम्मेवारी बाँडफाँट गरिने जानकारी दिए। “यो हामीले बनाउने पार्टी हो। कामअनुसार नै जिम्मेवारी हुन्छ,” उनले भने, “अहिले पनि छलफल गरेर चाँडै जिम्मेवारी तोकिन्छ, केन्द्रीय समिति बैठकले त्यसबारे निर्णय गर्छ।”
अध्यक्ष घिसिङले जिल्ला जिल्लामा खटिएका नेताहरूको जिम्मेवारी औपचारिक रूपमा नतोकिने अवस्थामा व्यक्तिगत अपेक्षा भन्दा पनि पार्टीका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउने लक्ष्यमा लाग्न आग्रह गरे। उनले संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
पार्टीले आगामी निर्वाचनलाई आफ्नो संगठनात्मक आधार बलियो बनाउने अवसरका रूपमा लिएको बताउँदै उनले सबै तहका नेता कार्यकर्तालाई एकताबद्ध भएर सक्रिय हुन निर्देशन दिएका छन्।












