बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहणमा परराष्ट्रमन्त्री सहभागी हुँदै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित परराष्ट्रमन्त्री बालानन्द शर्मा आइतबार ढाका प्रस्थान गर्ने भएका छन्। उनी बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुने कार्यक्रम छ।
हालै सम्पन्न आमनिर्वाचनमा बंगलादेशको नेशनलीष्ट पार्टी (बीएनपी) ले दुई तिहाइभन्दा बढी सिट जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। पार्टीका नेता तारिक रहमान प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै छन्। मन्त्री शर्माको भ्रमणलाई नयाँ सरकारसँग औपचारिक सम्बन्ध स्थापना र सहकार्यका नयाँ आयाम खोज्ने अवसरका रूपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार ढाकामा रहँदा मन्त्री शर्माले नवनिर्वाचित प्रधानमन्त्री तथा विदेशमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन्। भेटका क्रममा नेपाल बंगलादेश ऊर्जा सहकार्यलाई तीव्रता दिने विषयमा विशेष छलफल हुने बताइएको छ। नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने सम्झौता कार्यान्वयनको चरणमा रहेकाले डेडिकेटेड ट्रान्समिटर लाइन निर्माण र जलविद्युत् क्षेत्रमा बंगलादेशी लगानी विस्तारका विषय प्राथमिकतामा रहनेछन्।
पछिल्लो समय ऊर्जा व्यापार नेपाल बंगलादेश सम्बन्धको मुख्य आधार बन्दै गएको छ। नेपालको जलविद्युत् उत्पादन क्षमताको उपयोग गर्दै क्षेत्रीय ऊर्जा बजारमा पहुँच विस्तार गर्ने रणनीतिअनुसार बंगलादेश संगको सहकार्यलाई महत्त्व दिइएको हो।













