राष्ट्रिय मानव अधिकार आयोगको पहल: निर्वाचन सुरक्षाबारे उच्चस्तरीय समन्वय
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित राष्ट्रिय मानव अधिकार आयोगले चार वटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल गरेको छ।
आयोगका अनुसार सोमबार आयोजित बैठकमा निर्वाचन अवधिभर मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा खटिने कर्मचारीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर रणनीतिक तयारीबारे छलफल गरिएको थियो। मतदान केन्द्रको सुरक्षा, संवेदनशील क्षेत्रको पहिचान, भीड व्यवस्थापन तथा मानव अधिकारमैत्री सुरक्षा अभ्यासका विषयमा विशेष जोड दिइएको जनाइएको छ।
बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पर्वका रूपमा रहेको निर्वाचनलाई विश्वसनीय बनाउन प्रभावकारी र समन्वयात्मक सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका थिए। उनले सुरक्षा परिचालनका क्रममा मानव अधिकारको पूर्ण सम्मान गर्न पनि जोड दिएका थिए।
छलफलमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले आवश्यक स्रोत–साधनमा केही चुनौती रहे पनि समन्वय र उच्च मनोबलका साथ निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले जोखिमयुक्त क्षेत्रको विश्लेषण, गस्ती परिचालन तथा द्रुत प्रतिकार संयन्त्र सक्रिय राख्ने तयारी भइरहेको जानकारी गराएका थिए।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।













