विश्वकपमा निराशाजनक अन्त्यतर्फ नेपाल, स्कटल्यान्डविरुद्ध आज अन्तिम खेल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समय अनुसार मंगलबार साँझ ७ बजेर १५ मिनेटमा भारतको मुम्बईस्थित वनखेडे मैदानमा खेल हुने तय भएको छ।
समूह चरणबाट पहिले नै बाहिरिसकेको नेपालका लागि यो खेल केवल सान्त्वना जितको अवसर मात्र हो। तीन खेल खेल्दा अंकबिहीन रहँदा स्कटल्यान्डले दुई अंक जोडिसकेको छ। यही समूहबाट स्कटल्यान्ड र इंग्ल्यान्ड सुपर आठमा प्रवेश गरिसकेका छन्।
नेपालको विश्वकप यात्रा यसपटक निराशाजनक रह्यो। उद्घाटन खेलमै इंग्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य पछ्याउँदै अन्तिम क्षणमा चार रनले पराजित भएको थियो । त्यसपछि इटालीसँग १० विकेटको लज्जास्पद हार र वेस्ट इन्डिजसँग ९ विकेटको पराजयले नेपाल पूर्ण रूपमा दबाबमा परेको देखियो।
विशेषगरी इटालीविरुद्धको खेल नेपालका लागि सबैभन्दा कमजोर प्रदर्शन बन्यो। १२३ रनको सामान्य लक्ष्यसमेत विपक्षीले बिना विकेट सहजै भेट्टायो। वेस्ट इन्डिजविरुद्ध पनि नेपालले प्रतिस्पर्धी स्कोर बनाउन नसक्दा खेल एकतर्फी बन्यो।
दुई पटक विश्वकप खेले पनि नेपाल समूह चरण पार गर्न अझै असफल छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा टोली संयमित देखिए पनि मैदानमा आवश्यक आक्रामकता र निर्णायक क्षणमा खेल पल्टाउने क्षमताको अभाव प्रस्ट देखियो। अनुभवी खेलाडीहरूबाट अपेक्षित योगदान नआउनु पनि ठूलो कमजोरी बन्यो।
आजको खेलले नेपाललाई अंक तालिकामा फर्काउने मौका त दिन्छ, तर समग्र चित्र बदल्न सक्दैन।












