एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव कांग्रेसमा प्रवेश
Prime TV News २ हप्ता अगाडि 
सप्तरी। जितेन्द्रनारायण देव पुनः नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा एमाले परित्याग गरेपछि उनी मंगलबार सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा औपचारिक रूपमा कांग्रेसमा आबद्ध भएका हुन्।
कार्यक्रममा सप्तरी जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल तथा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देवलाई फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए। पार्टी प्रवेशपछि नेता देवले कांग्रेसको वर्तमान नेतृत्वप्रति प्रतिबद्धता जनाउँदै गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले अघि सारेका नीतिलाई समर्थन गर्ने बताएका छन्।
उनले विशेष महाधिवेशनबाट पारित नवीन नीति र कार्यक्रमलाई आत्मसात् गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय देव यसअघि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेस राजनीतिमा आएका थिए। फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी कांग्रेसबाटै सक्रिय बनेका थिए।
देव संविधानसभा सदस्य तथा पूर्वमन्त्रीसमेत भइसकेका छन्। उनी यसअघि कांग्रेसबाट राष्ट्रियसभा सदस्य बनेका थिए। असार २०८१ मा कांग्रेस छाडेर एमालेमा गएका देवले गत माघ १९ मा एमाले परित्याग गरेका थिए। एमाले छाडेको केही समयमै उनले पुनः कांग्रेस रोजेका हुन्।













