नेपाल राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। राष्ट्र बैंकले ८९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि बोलकबोल मंगलबार आयोजना गरिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत प्रस्ताव पेश गर्नुपर्नेछ।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी जेठ ३ गते गरिनेछ भने ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ।
राष्ट्र बैंकले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सकिने व्यवस्था गरेको छ। अधिकतम रकम भने पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्नेछ। निक्षेप बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइने र सोही आधारमा क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
बजारमा तरलता अत्यधिक बढेको अवस्थामा राष्ट्र बैंकले यस्ता उपकरण प्रयोग गरी बैंकिङ प्रणालीमा रहेको अतिरिक्त रकम खिच्दै आएको छ। यस कदमले मुद्रा आपूर्ति सन्तुलनमा राख्न तथा वित्तीय स्थायित्व कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।













