दुर्गा प्रसाई फेरि पक्राउ, सार्वजनिक शान्ति भंग र अफवाह फैलाएको आरोपमा अनुसन्धान

User Image Prime TV News २ हप्ता अगाडि
Image of दुर्गा प्रसाई फेरि पक्राउ, सार्वजनिक शान्ति भंग र अफवाह फैलाएको आरोपमा अनुसन्धान

काठमाडौ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईलाई प्रहरीले पुनः पक्राउ गरी अनुसन्धान थालेको छ। उनलाई सोमबार साँझ भक्तपुर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार प्रसाईविरुद्ध सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ। प्रहरी स्रोतका अनुसार उनले सार्वजनिक रूपमा दिएका पछिल्ला अभिव्यक्ति र गतिविधिलाई आधार बनाएर अनुसन्धान प्रक्रिया सुरु गरिएको हो।

प्रसाईले सरकारसँग भएको सहमति कार्यान्वयन नभए अनिश्चितकालीन बन्द आह्वान गर्ने तथा निर्वाचन हुन नदिने चेतावनीपूर्ण अभिव्यक्ति दिँदै आएका थिए। यस्ता अभिव्यक्तिले सार्वजनिक व्यवस्था र शान्तिमा असर पार्न सक्ने ठहर गर्दै छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ। उनीमाथि झुटा अफवाह फैलाएको आरोपमा समेत अनुसन्धान गरिने बताइएको छ।

यसअघि पनि प्रसाई विभिन्न मितिमा पक्राउ पर्दै रिहा हुँदै आएका छन्। माघ २३ गते पक्राउ परेका उनी हाजिर जमानीमा छुटेका थिए। त्यतिबेला निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्युरोले बयान लिएको थियो। त्यसअघि माघ ५ गते पोखराबाट पक्राउ परेका प्रसाईं सोही दिन रिहा भएका थिए।

प्रहरीले हाल प्रसाईंका अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि तथा सार्वजनिक कार्यक्रमहरूबारे थप प्रमाण संकलन गरिरहेको जनाएको छ। अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।