रक्षा बमको बालेनलाई कटाक्ष: “फोहोर समस्या विदेशी होइन, हाम्रो प्रशासनिक असफलता”

User Image Prime TV News २ हप्ता अगाडि
Image of रक्षा बमको बालेनलाई कटाक्ष: “फोहोर समस्या विदेशी होइन, हाम्रो प्रशासनिक असफलता”

काठमाडौ । जेनजी अभियन्ता रक्षा बमले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन विषयमा पूर्वमेयर बालेन शाहको अभिव्यक्तिप्रति तीव्र प्रतिक्रिया दिएकी छन्। उनले फोहोर व्यवस्थापनमा देखिएको समस्या विदेशी हस्तक्षेपका कारण नभई प्रशासनिक र नीतिगत कमजोरीको परिणाम भएको बताएकी हुन्।

झापा–५ बाट चुनावी मैदानमा रहेका शाहले महानगरको फोहोर व्यवस्थापनमा देखिएको जटिलतामा विदेशी हस्तक्षेप रहेको अभिव्यक्ति दिएका थिए। त्यसलगत्तै बमले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै हरेक विषयलाई विदेशी हस्तक्षेपसँग जोडेर राष्ट्रिय स्वाधीनतालाई कमजोर नबनाउन आग्रह गरिन्।

उनले लेखेकी छन्, “फोहोर व्यवस्थापन गर्न नसक्नु हाम्रो प्रशासनिक कमजोरी हो। संस्था कमजोर हुनु हाम्रो नीतिगत असफलता हो। नेतृत्व जवाफदेही नहुनु हाम्रो राजनीतिक संस्कारको समस्या हो।”

बमले देशका संरचनात्मक समस्या तत्काल समाधान नहुने उल्लेख गर्दै त्यसका लागि स्पष्ट कार्ययोजना, नीतिगत सुधार र जवाफदेही नेतृत्व आवश्यक पर्ने बताएकी छन्। उनका अनुसार समस्या पहिचान गरेर दीर्घकालीन समाधानको खाका प्रस्तुत गर्नु नै सशक्त नेतृत्वको पहिचान हो।

काठमाडौं महानगरको फोहोर व्यवस्थापन पछिल्लो समय पुनः सार्वजनिक बहसको विषय बनेको छ। राजनीतिक नेतृत्वका फरक फरक धारणा सार्वजनिक भइरहेका बेला यस विषयले चुनावी सन्दर्भमा समेत नयाँ तरंग सिर्जना गरेको छ।