प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राष्ट्रपति पौडेलको सवैलाई आह्वान
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सवैलाई आह्वान गरेका छन् ।
ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शितल निवासमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भन्दै फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सवैलाई आह्वान गरेका हुन् ।
उनले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको धारणा राख्दै मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु सवैको साझा दायित्व भएको उल्लेख गरे ।
यस्तै राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने उल्लेख गरे । हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदायले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गरेको राष्ट्रपति पौडेलको भनाई थियो ।












