प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ पूरा, फागुन २१ अघि वितरण हुने

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ पूरा, फागुन २१ अघि वितरण हुने

काठमाडौ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ प्रक्रिया पूर्णरूपमा सम्पन्न भएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले सोमबार साँझ मतपत्र छपाइको जिम्मेवारी पूरा भएको र आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ गरेर सम्बन्धित प्रदेशमा पठाइने जानकारी दिएका छन्।

पौडेलका अनुसार प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ कार्य ४० दिनमा पूरा भएको छ। “प्रारम्भमा ४२ दिनको तालिका बनाइएको थियो, तर हामी ४० दिनमै छपाइ सक्न सफल भयौँ। अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याइनेछ,” उनले भने।

केंद्रले दैनिक १३–१५ लाख मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र निर्वाचन आयोगले विभिन्न स्थानमा वितरण गरिसकेको छ। साथै, दुई करोड ८० हजार समानुपातिक मतपत्र जिल्ला तहमा पठाउने काम भइरहेको छ।

मतपत्र छपाइ र वितरणको तयारीसँगै निर्वाचन आयोगले निर्वाचन सुरक्षित, व्यवस्थित र समयमै सम्पन्न हुने सुनिश्चित गर्न कदम अघि बढाएको छ।