फागुन २१ पछि देशमा नयाँ युग परिवर्तन शुरु हुन्छः रवि लामिछाने

User Image Prime TV News २ हप्ता अगाडि
Image of फागुन २१ पछि देशमा नयाँ युग परिवर्तन शुरु हुन्छः रवि लामिछाने

काठमाडौ । रवि लामिछानेले चितवन–१ मा आयोजित चुनावी सभामा आफूलाई घेराबन्दी र सखाप पार्ने प्रयास असफल भएको दाबी गर्दै फागुन २१ को निर्वाचनमा देशको युग परिवर्तन हुने विश्वास व्यक्त गरेका छन्।

सभामा लामिछानेले मध्यरातमा बेडरुममा प्रवेश गरी “तेरो अन्तिम इच्छा के हो?” सोधिएको घटनाको स्मरण गर्दै भने, “मैले जवाफ दिइनँ। मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते जनताले बोल्नेछन्।”

उनले फागुन २१ को चुनावलाई केवल मतदान नभई देशको क्रान्ति र सपना पूरा गर्ने अवसर भएको बताए। लामिछानेले भने, “राजनीतिको आडमा राज्य संरचनाहरूलाई विभेदपूर्ण ढंगले प्रयोग गरी बजेटको अन्याय र क्षेत्रीय असमानता सिर्जना गरिएको हिसाब अब दिनै पर्छ। यसपटक क्रान्ति पूरा गर्नै पर्छ।”

लामिछानेले आफूमाथि भएका मुद्दा र अन्यायको कानुनी लडाइँ आफैं लड्ने स्पष्ट पारेका छन्। उनले थपे, “३४ वर्ष यिनीहरूले हाम्रो सपनामा डोजर चलाए, त्यसको हिसाब लिनै पर्छ। त्यो हिसाब हामी लिन्छौँ।”

उनले चितवनलाई देशको इतिहास रच्ने भूमि भएको उल्लेख गर्दै भने, “३ वर्षअघिदेखि यहाँ सुरु भएको निलो क्रान्ति आज देशभर फैलिइसक्यो। इतिहास रच्ने यो यात्रामा चितवनले सुरुवात गरेको कामलाई देशभरका अन्य जिल्लाले साथ दिन तयार छन्।”

सभामा लामिछानेले स्थानीय र राष्ट्रिय स्तरमा राजनीतिक परिवर्तनको महत्त्व औँल्यादै जनतालाई मतदानमा भाग लिएर “देशको भविष्य र न्याय सुनिश्चित” गर्न आह्वान गरे।