सुरक्षा मुद्रण केन्द्रका पूर्व निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार प्रमाण कागजात झिकाउने आदेश
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सुरक्षा मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलमाथि गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा प्रमाण कागजात झिकाउने आदेश जारी भएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आवश्यक प्रमाण कागजात अदालतमा पेश गर्न आदेश दिएको हो । अख्तियारले विकल पौडेलमाथि ६२ करोड १९ लाख रुपैयाँ १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको थियो।
अनुसन्धानका क्रममा देखिएको छ कि उनले पत्नी एलिना बस्नेतको नाममा समेत सिंगापुर र अमेरिकामा रकम लुकाएका थिए। साथै, आपूर्तिकर्ताबाट लिएको कमिसन विभिन्न व्यक्तिको नाममा परिचालन गरिएको अख्तियारको दाबी छ।
हालसम्म खोजबिन गर्दा ४४ करोड ५२ लाख मात्रै भेटिएको छ भने बाँकी १७ करोड ६६ लाख रुपैयाँ लुकाइएको पुष्टि भएपछि अख्तियारले उक्त सम्पत्ति जफत गर्न अदालतमा माग गरेको हो ।अदालतको आदेशपछि विकल पौडेलविरुद्ध थप प्रमाण संकलन र मुद्दा अघि बढाउने प्रक्रिया औपचारिक रूपमा सुरु हुने बताइएको छ ।













