काठमाडौं महानगरपालिका मूल्याङ्कनमा अन्तिम, सुधारको चुनौती अझै बाँकी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । काठमाडौं महानगरपालिका देशका ६ महानगरपालिका मध्ये कार्यसम्पादनमा सबैभन्दा कमजोर सावित भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकका आधारमा गरेको मूल्याङ्कनमा काठमाडौं अन्तिम स्थानमा पुगेको हो।
आयोगले गरेको मूल्याङ्कनअनुसार विराटनगर पहिलो, ललितपुर दोस्रो, भरतपुर तेस्रो, पोखरा चौथो र वीरगन्ज पाँचौं स्थानमा रहेका छन्। आयोगले स्थानीय तहहरूको खर्च, राजस्व सङ्कलन, बजेट व्यवस्थापन, सेवा प्रवाह र वित्तीय अनुशासन जस्ता विषयलाई आधार बनाएर मूल्याङ्कन गर्छ।
विशेषज्ञहरूको मत अनुसार काठमाडौंको कमजोर प्रदर्शनको मुख्य कारण वित्तीय अनुशासनको अभाव र विकास योजना कार्यान्वयनमा देखिएको हेलचेक्य्राइँज हुन्। आयोगका अनुसार, महानगरपालिकाले बेरुजु फर्स्योटमा शून्य अङ्क पाएको छ।
संविधान, २०७२ अनुसार स्थानीय तहलाई शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, भाषा-संस्कृति, कर सङ्कलनदेखि नगरपालिका प्रहरीसम्मका २२ वटा अधिकार प्रदान गरिएको छ। यी दायित्व पूरा गर्न आवश्यक स्रोत सुनिश्चित गर्न राष्ट्रिय स्रोत तथा वित्त आयोगले स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने संवैधानिक जिम्मेवारी पाएको छ।
विशेषज्ञहरूले काठमाडौं महानगरपालिकामा प्रमुख र उपप्रमुख नेतृत्व कमजोर भएकोले कार्यपालिका जिम्मेवारीमा चुकिरहेको बताएका छन्। गत वर्षदेखि संघीय व्यवस्थामा गएका महानगरपालिकामा विकास बजेट खर्च गर्न नसक्ने समस्या बढी देखिएको थियो। पछिल्लो निर्वाचनपछि भने प्रशासनमा अराजकता र भद्रगोल बढेको विश्लेषण गरिएको छ।
तर, नयाँ नेतृत्वले सुधारको मार्ग खोलेको छ। आयोगका अनुसार बाँकी समय गम्भीर र सक्रिय कार्यपालिकाले विगतको भन्दा सुधारिएको नतिजा देखाउन सक्ने सम्भावना छ। स्थानीय विशेषज्ञहरूको कामना छ कि काठमाडौं कम्तीमा ललितपुरजस्तो अङ्क ल्याउन सफल होस्।













