नेकपा (संयुक्त)ले सार्वजनिक गर्यो घोषणापत्र, ५ वर्षभित्र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेकपा (संयुक्त)ले सार्वजनिक गर्यो घोषणापत्र, ५ वर्षभित्र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष चन्द्रदेव जोशी र कार्यवाहक अध्यक्ष घनश्याम भुसालले मंगलबार आयोजित एक कार्यक्रममा घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा नेपाल कम्युनिष्६ पार्टी (संयुक्त)ले मुलुकको दीर्घकालीन आर्थिक पराधीनता, राजनीतिक अस्थिरता र नेतृत्वको गैरजिम्मेवारीलाई प्रमुख समस्याका रूपमा देखाउँदै, यी समस्याबाट मुक्ति पाउनको लागि आत्मनिर्भर अर्थतन्त्र र समाजवादी नीतिहरूको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।

घोषणापत्रको प्रमुख नारा “विकासको नेपाली बाटोः सुशासन र रोजगारी, समाजवादको तयारी” रहेको छ। यसमा आर्थिक परनिर्भरता अन्त्य गर्न, उद्यमशील राष्ट्र निर्माण गर्न र संविधानमा उल्लिखित समाजवादी अर्थतन्त्रको कार्यान्वयनलाई प्राथमिकता दिइएको छ।

पार्टीले कृषि, वन, पर्यटन, खानी र जलस्रोतका क्षेत्रमा उद्योगहरू स्थापना गरेर ग्रामीण क्षेत्रको विकासलाई प्रोत्साहन गर्ने योजना प्रस्तुत गरेको छ। यसको उद्देश्य कृषकहरूलाई आत्मनिर्भर बनाउनु र रोजगारका अवसरहरू सिर्जना गर्नु हो।

संयुक्तले कृषिमा आश्रित हरेक परिवारलाई महिनामा ४०-४५ हजार रुपैयाँ कमाउन सक्ने गरी ग्रामीण कृषिको विकास गर्ने र ५ वर्षभित्र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ। साथै, वन, पर्यटन, खानी र जलस्रोतका क्षेत्रमा उद्योगहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। साना र मझौला उद्योगहरूको विस्तारलाई पनि घोषणापत्रमा प्राथमिकता दिइएको छ, जसले बेरोजगारी र गरिबीमा कमी ल्याउने विश्वास गरिएको छ।

संविधानमा प्रत्याभूत मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन नगर्नुले राज्य र नागरिकबीच अविश्वास बढाएकोमा पार्टीले चिन्ता व्यक्त गरेको छ। त्यसैले, पार्टीले रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा सुधारका लागि काम गर्नुपर्ने बताएको छ।

संसदीय व्यवस्थाको ‘घरेलुकरण’को विषयमा पनि पार्टीले आफ्नो ध्यान केन्द्रित गरेको छ। पार्टीका अनुसार, निर्वाचित प्रतिनिधि र जनताबीचको दूरी कम गर्न र चुनावलाई व्यक्ति-केन्द्रित नभइ नीति-केन्द्रित बनाउनुपर्ने आवश्यकता रहेको छ।

घोषणापत्रमा वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको हक र अधिकारको संरक्षणका लागि कूटनीतिक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ। न्यूनतम पारिश्रमिक, बीमा र सुरक्षित कार्यपरिस्थितिको पक्षमा कदम चाल्नका लागि पार्टी प्रतिबद्ध रहेको जनाएको छ।

गैरआवासीय नेपालीहरूलाई संविधानले दिएको अधिकारको प्रभावकारी कार्यान्वयन र भुपू गोर्खा सैनिकहरूको समान पेन्सनको ब्यवस्था पनि पार्टीले राखेको छ।