नेप्सेमा गिरावटको निरन्तरता, मंगलबार २० अंकले घट्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सोमवारको गिरावटपछि मंगलबार पनि नकरात्मक स्थिति कायम रह्यो।
सोमबार ८ अंकको गिरावट देखिएको नेप्से मंगलबार थप २०.७५ अंक घटेर २६४२.१५ बिन्दुमा पुगेको छ। आजको कारोबार सत्रको दौरान नेप्से निरन्तर नकरात्मक रह्यो र बजारमा उतारचढाव देखा परेको थियो। सोमबारको तुलनामा कारोबार रकम र कारोबार भएका सेयरहरूको संख्यामा थोरै वृद्धि भए पनि बजारको समग्र दिशा नकरात्मक नै रहेको देखिन्छ ।
मंगलबार, नेप्सेमा कारोबार भएका २ सय १४ कम्पनीहरूको सेयर मूल्य घटेको छ। यसैगरी, ४२ कम्पनीहरूको सेयर मूल्य बढेको छ भने ६ कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन आएको छैन। विशेषगरी, सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि भएको छ।
यद्यपि, अधिकांश समूहगत सूचक नकरात्मक देखिएका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा लगायतका समूहहरूमा क्रमशः ६.१७ अंक, ६७.३५ अंक, ५२.३४ अंक, ८६.७५ अंक, ५८.१४ अंक, ०.५० अंक, ९९.४७ अंक, २४.४४ अंक, ८२.३४ अंक, १३.४७ अंक र ६७.२६ अंकको गिरावट आएको छ।
तर, केही समूहहरूमा सकारात्मक गतिविधि देखिएको छ। सामूहिक लगानी कोष र व्यापार समूहमा क्रमशः ०.१० अंक र ८.३७ अंकको वृद्धि भएको छ, जुन बजारका लागि सकारात्मक संकेतका रूपमा लिइन्छ। आजको कारोबारमा ३ सय ५४ कम्पनीका ८३ हजार ७५ कारोबारबाट २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ।













