काठमाडौंमा मानव बेचबिखन र मनी लाउन्डरिङ मुद्दा: ९८ करोड बिगो कायम

User Image Prime TV News २ हप्ता अगाडि
Image of काठमाडौंमा मानव बेचबिखन र मनी लाउन्डरिङ मुद्दा: ९८ करोड बिगो कायम

काठमाडौ । रुकुम क्षेत्रका दुई जना व्यक्तिविरुद्ध मानव बेचबिखन र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर भएको छ।

कलबहादुर बस्नेत, रुकुम पश्चिम साविक बाफिकोट गाउँपालिका–२ निवासी, हाल काठमाडौं बसोबास गर्ने र अमित बस्नेत, रुकुम पूर्व सिस्ने गाउँपालिका–५ निवासी, हाल काठमाडौं बस्ने, विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत फागुन ४ गते काठमाडौं जिल्ला अदालतमा आरोपपत्र दायर गरिएको छ।

प्रहरी उपरीक्षक एवं सूचना अधिकारी राजन लिम्बूले जानकारी दिएअनुसार, कलबहादुर बस्नेत अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा रहेका छन् भने अमित बस्नेत फरार रहेका छन्।

अनुसन्धानका क्रममा खुलेको छ कि अभियुक्तहरूले करिब २५० नेपाली नागरिकलाई गैरकानुनी बाटो प्रयोग गरी विभिन्न देश हुँदै अमेरिका पठाउने प्रयास गरेका थिए। केहीलाई अमेरिका लैजाने भन्दै विभिन्न मुलुकमा अलपत्र पारिएको, साथै मानव बेचबिखन, ठगी र वैदेशिक रोजगार ठगीसम्बन्धी अपराध भएको पाइएको छ।

ब्युरोका अनुसार, अवैध कार्यबाट आर्जित रकम नगद र विभिन्न बैंक खातामार्फत शुद्धीकरण गरिएको पाइएको छ। कलबहादुर बस्नेतको नाममा ७० करोड ६० लाख, र अमित बस्नेतको नाममा २७ करोड ४५ लाख गरी कुल ९८ करोड ५ लाख रुपैयाँ बराबरको बिगो कायम गरिएको छ।

अदालतमा दायर आरोपपत्रमा बिगो बराबरको दोब्बर जरिवाना र अपराधको मात्रा अनुसार २–१५ वर्ष कैद सजायको माग गरिएको छ। साथै अभियुक्तहरूको नाममा रहेको घरजग्गा, बैंक मौज्दात र बीमा रकम जफत गर्ने मागसमेत गरिएको छ । प्रहरीले फरार अमित बस्नेतको खोजी कार्य जारी राखेको छ।