निर्वाचन नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या वढ्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचन नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या वढ्यो

काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या लगातार बढ्दै गएको छ।

वैदेशिक रोजगार विभागका अनुसार माघ २०८२ मा ७०,५०३ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यसमा ६२,१६२ पुरुष र ८,३४१ महिला छन्। कुल १०७ देशमा वैदेशिक रोजगारीका अवसर लिएका नेपालीहरू मध्ये यूएई, साउदी अरेबिया, कतार, मलेसिया र कुवेत सबैभन्दा बढी रोजाइमा परेका छन्।

माघमा यूएई जान १५,१३७, साउदी जान ११,५९२, कतार जान ११,५८०, मलेसिया जान १०,३४१, र कुवेत जान ५,४४३ जनाले श्रम स्वीकृति लिएका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्मको सात महिनामा वैदेशिक रोजगारीमा जानेहरूको संख्या ४,७२,५७७ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षकै अवधिको ४,६५,५०८ भन्दा १.५१ प्रतिशत बढी हो।

महिनावार हेर्दा साउनमा ६८,११०, भदौमा ६७,९७२, असोजमा ६४,६३४, कात्तिकमा ७३,०९४, मंसिरमा ६५,७०५, पुसमा ६२,५५९ र माघमा ७०,५०३ जनाले श्रम स्वीकृति लिएका छन्। विभागका अधिकारीहरूले भने, “नयाँ रोजगार अवसरका लागि नेपालीहरू निरन्तर विदेशतर्फ आकर्षित भएका छन्। विशेषगरी खाडी देशहरूमा निर्माण, सेवा र स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर धेरै छन्।”