फास्ट ट्र्याकको प्रस्थान बिन्दु विवादलाई मध्यनजर गर्दै वैकल्पिक योजना अगाडि बढाउन प्रधानमन्त्री कार्कीको निर्देशन

User Image Prime TV News २ हप्ता अगाडि
Image of फास्ट ट्र्याकको प्रस्थान बिन्दु विवादलाई मध्यनजर गर्दै वैकल्पिक योजना अगाडि बढाउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई/मधेश द्रुतमार्गको प्रारम्भिक बिन्दु खोकनामा राख्ने विवादलाई मध्यनजर राख्दै वैकल्पिक योजना अगाडि बढाउने निर्देशन दिएकी छिन्। ललितपुरको खोकना क्षेत्रमा धार्मिक–सांस्कृतिक सम्पदा र स्थानीय आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायले उठाएको चासोलाई उनले गम्भीरतापूर्वक लिएका हुन्।

प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईं, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देल लगायत सम्बन्धित अधिकारीहरूसँग छलफल गरेकी थिइन्।

छलफलमा नेपाली सेनाले आयोजनामा हालसम्मको प्रगति, समस्या र अपेक्षाहरू प्रस्तुत गरेको थियो। प्रधानमन्त्री कार्कीले सबै निकायलाई निर्देशन दिइन् कि विकास निर्माणमा अनावश्यक ढिलाइ हुनु हुँदैन र विवादमा अल्झिएर बस्नु पनि हुँदैन। उनले भनिन्, “विकास निर्माणमा ढिलाइ हुनु हुँदैन। विवाद भए पनि विकल्प खोजेर अघि बढ्नुपर्छ। विस्तृत परियोजना प्रतिवेदन संशोधन गरी सुरु बिन्दु खोकना नहुने भए अन्य स्थानबाट प्रस्थान बिन्दु कायम गरौं।”

प्रधानमन्त्रीको निर्देशनअनुसार अब खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा निर्माण गरी द्रुतमार्गको डीपीआर संशोधन गरिने तयारी भइरहेको छ। यस निर्णयले परियोजनालाई अनिश्चितकालसम्म ढिलाइ हुने जोखिमबाट बचाउँदै चाँडो सञ्चालनमा ल्याउने उद्देश्य राखेको छ।

परियोजना वर्तमानमा निर्माणाधीन अवस्थामा छ र प्रधानमन्त्रीले स्थानीय सरोकार र राष्ट्रिय गौरवको योजनालाई सन्तुलित तरिकाले अघि बढाउन जोड दिएकी छिन्।